बैंकिङ्ग समाचार, काठमाडौं ।
माण्डु हाइड्रोपावर लिमिटेडले अमज असार २८ गते बिहीवारदेखि पहिलो चरणको आईपीओ प्रिमियम मूल्यमा निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यसका साथै कम्पनी सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण शेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री अवधि छिटोमा साउन ११ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन २६ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ ।
विक्री प्रबन्धकसँगै स्थानीयले आयोजनाको कार्यालय, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया