नबिल बैंकले प्रविधिको प्रयोग र सरल बैंकिङ्ग सेवामा अझ अघि बढ्ने प्रतिवद्धता सहित मनायो ३९औँ वार्षिकोत्सव

नबिल बैंकले प्रविधिको प्रयोग र सरल बैंकिङ्ग सेवामा अझ अघि बढ्ने प्रतिवद्धता सहित मनायो ३९औँ वार्षिकोत्सव


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल बैंकिङ्ग सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको छ ।

३९ औं वार्षिकोत्सवकोे अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए । त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको उनको भनाई छ । बैंक स्थापना काल देखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाई छ । दिगो र डिजिटलाइज्ड बैंकिङ्गलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए ।

सरल र ग्राहक मैत्री सेवा दिने क्रममा नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको छ । सरलीकृत बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ्गको सुरु गरेको थियो ।

नबिल बैंकले सन् १९९४ मा पहिलो पटक एटिएम सर्भिसको सुरुवात गरेको थियो । त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङ्गको सुरु गरी मोबाइलबाट बैंकिङ्ग सुविधा लिने प्रविधि भित्राइएको थियो ।

नबिल बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो । सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो ।

नबिलले पछिल्लो पटक सन् २०२२ मा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङ्गको सुरु गरेको थियो ।

नबिल बैंकले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २ सय ६४ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।