आज नेप्से स्थिर रहेर बन्द, कारोबार रकम सुधार भएर ४ अर्ब नजिक

आज नेप्से स्थिर रहेर बन्द, कारोबार रकम सुधार भएर ४ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार स्थिर रहेको छ । आज नेप्से ०.८० अंकले घटेर २ हजार ७६ दशमलब ९६ विन्दुमा पुगेको छ । आइतबार नेप्से २८.३८ अंकले बढेर २ हजार ७७ दशमलब ७६ विन्दुमा बन्द भएको थियो । 

नेप्सेमा झिनो गिरावट भएपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज ३ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेमा कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने ११२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६४ दशमलव ८० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी हिमालयन हाइड्रोपावर र सिटि होटल्सका लगानीकर्ताले गुमाएका छन् । यि दुई कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ३३ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।