स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुरु

स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित एक औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्युआर र नेपाल पे क्युआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

क्युआर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्युआर मार्फत आबद्द भएका विभिन्न मोबाइल बैंकिङ्ग, वालेट र Connect IPS का प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्द सम्पूर्ण २ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन । यसैगरि, स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैंकिङ्ग र वालेटहरूले नेपाल पे क्युआर नेटवर्कमा आबद्द ३ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचानमा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ ।