हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकेकोमा सो अवधिसम्म माग बमोजिम आवेदन नपरेकाले असार २५ गतेसम्मको अवधि थप गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा ७५ प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २७ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा बैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।