साताको पहिलो दिन नेप्से उच्च अंकले घटेर २१ सय बिन्दु मुनि, कारोबार रकम पनि घटेर ५ अर्ब कायम

साताको पहिलो दिन नेप्से उच्च अंकले घटेर २१ सय बिन्दु मुनि, कारोबार रकम पनि घटेर ५ अर्ब कायम


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबार दिन उच्च अंकको गिरावट भई २१ सय बिन्दु भन्दा तल पुगेको छ । आइतवार नेप्से ५३.७० अंकले घटेर २ हजार ९७ दशमलब २९ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधवार नेप्से ३५.३७ अंकले घटेर २ हजार १ सय ५० दशमलब ९९ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकम पनि घटेर ५ अर्बमा सिमित भएको छ । आज ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ५ अर्ब ९७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीको शेयरमूल्य घटेको छ ।

आज नेप्सेमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४ सय १३ रुपैयाँ पुगेको छ भने सिटी होटल्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ६२ दशमलव ७० रुपैयाँ पुगेको छ ।

आज श्रृजनशील लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । 

यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।