बैंकिङ्ग समाचार, काठमाडौं ।
शिव शिखर सहकारीको अर्बौ रकम ठगी गरी फरार रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबीको टोलीले उनलाई भारतको मुम्बईबाट पक्राउ गरेको हो । उनीमाथि सहकारीको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ ।
शर्मालाई मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार पक्राउ गरी नेपाल ल्याएको छ । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको आरोप छ । उनी विरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भएको छ भने अन्य जिल्लामा अनुसन्धान भइरहेको छ ।
सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका शर्माले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।
शर्मा भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन् । यसअघि सीआईबीले शर्माकी श्रीमती गीता शर्मासहित तीन जना सञ्चालकलाई पक्राउ गरिसकेको छ । सीआईबीले शर्मासहित सो सहकारीका सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पक्राउ गरेको हो । अहिले उनीहरु थुनामा छन् ।
प्रतिक्रिया