बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गरेसँगै जेठ ३२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्नेछन् । लगानीकर्ताले साउन १८ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया