हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि असार २५ सम्म लम्बियो


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयरको विक्री अवधि थप गरेको छ । कम्पनीले असार २५ गतेसम्मका लागि विक्री अवधि थप गरेको हो । यसअघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकिएको थियो । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि कम्पनीले हकप्रद शेयरको विक्री अवधि थप गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख २७ गते बुकक्लोज गरेको थियो । यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।