साना किसान विकास र आरएमडीसी लघुवित्तले असार २४ देखि एकिकृत कारोबार सुरु गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् ।

दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । 

मर्जर प्रयोजनका लागि असार २२ देखि २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने जानकारी कम्पनीहरूले गराएका छन् । एकीकृत कारोबार गरेको दिनदेखि दुवै सूचीकृत कम्पनीको शेयर कारोबार बढीमा १५ कारोबार दिन रोक्का हुनेछ ।