अभियान लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

अभियान लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आह्वान, बुकक्लोज कहिले ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ६ गते बसेको संचालक समितिको  बैठकले उक्त सभा यही असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा आह्वान गरेको हो । उक्त सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ र सर्वसाधारण शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ ।

त्यस्तै, सभाले यस वित्तीय संस्थाले अन्य ईजाजत पत्र प्राप्त “घ” बर्गका कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

संस्थाले साधारणसभा प्रयोजनार्थ असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १४ गते बिहिवारसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।