नेपाल बैंकको नाफा तेस्रो त्रैमासमा करिब १९% घट्यो, ईपीएस पनि घट्यो

नेपाल बैंकको नाफा तेस्रो त्रैमासमा करिब १९% घट्यो, ईपीएस पनि घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल बैंकको खुद नाफा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा यस बैंकले २ अर्ब १९ करोड कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशत, कुल सञ्चालन आम्दानी २७.३२ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत भएको छ । यसका कारण इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ४८ करोड पुगेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ १३ पैसा घटेर १६ रुपैयाँ १३ पैसा भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९७ पैसा रहेको छ ।