महालक्ष्मी विकास बैंकको ११% ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

महालक्ष्मी विकास बैंकको ११% ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले चैत २९ गतेदेखि विक्री खुला गरेको ऋणपत्र खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले १ अर्ब रुपैयाँको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा आएको हो ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिनुपर्नेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने कम्पनीको भनाइ छ ।