बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सानातिना धक्काले नेपालका बैंक जोखिममा नपर्ने बताएका छन् । वर्तमान आर्थिक वित्तीय स्थितिबारे राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले नेपालका बैंक वित्तीय संस्था सुरक्षित रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘समग्रमा हाम्रा बैंकहरुको अवस्था सुरक्षित छ । सानोतिनो धक्काले जोखिममा पर्दैनन् ।’ त्यस्तै, उनले नेपालमा अर्थतन्त्र सुधार हुँदै जादा अझै ब्याजदर उच्च रहेको बताउँदै निक्षेप र कर्जाको ब्याजदर भने घट्दो अवस्थामा रहेको बताए ।
मुद्रास्फिती घट्ने क्रममा रहेको भन्दै गभर्नर अधिकारीले आगामी दिनमा घट्न सक्ने आकलन गरेका छन् । साथै उनले पछिल्लो समय रेमिट्यान्समा उल्लेख्य रुपमा वृद्धि भएको बताए । बाह्य दवावलाई विप्रेषण आप्रवाहले धेरैहदसम्म समाधान गरेको गभर्नर अधिकारीको भनाइ रहेको छ । पछिल्लो ४ महिनामा १ खर्ब भन्दा बढी रेमिटेन्स भित्रिएको उनले बताए । मंसिर, पुस, माघ, फागुन महिनामा निरन्तर रुपमा मासिक एक अर्ब भन्दा माथि भित्रिएको छ । औषतमा ९९ अर्बका दरले रेमिट्यान्स भित्रिदिदै आएको उनले बताए ।
आधार व्याजदर पनि घट्दो क्रममा रहेको गभर्नर अधिकारीले उल्लेख गरेका छन् । विश्वमा विकसित मुलुकमै बैंक वित्तीय संस्थाहरु संकटमा परिरहेको, कतिपय बैकहरु ढलिरहेको र केहिलाई बचाउनु परिरहेको अवस्थामा नेपालमा त्यस्तो नरहेको उनको भनाइ छ ।
त्यस्तै, उनका अनुसार बैंक तथा वित्तीय संस्थाको प्रयाप्तता तोकिएको सीमामा नै रहेको छ । पुँजी कोष अनुपात १३ प्रतिशत भन्दा बढी छ ।खराब कर्जा दर गत वर्षको भन्दा बढेको छ । तर राष्ट्र बैंकले प्रोभिजनमा कडाइ गरेको कारण खराब कर्जा बढेको बताउँदै उनले खराब कर्जाको दर घट्दै जाने जानकारी गराए ।
प्रतिक्रिया