बैंकिङ्ग समाचार, काठमाडौं ।
अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल सहरमा एक व्यक्तिले आफू कार्यरत बैंकमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । द न्युयोर्क टाइम्सका अनुसार लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन् । उक्त घटना अन्य ९ जना घाइते भएका छन् । घाइते ९ जना मध्य दुई जनाकको अवस्था गम्भिर रहेको एजेन्सीहरुले बताएका छन् ।
आक्रमण गर्ने सन्दिग्ध व्यक्तिको नाम कोनर स्टर्जन भएको प्रहरीले जनाएको छ । उनी २५ वर्षका थिए । प्रहरीका अनुसार उनले आक्रमणमा एआर-१५ जस्तो अर्धस्वचालित राइफल प्रयोग गरेका थिए । गोली चलाएको दृश्य उनले सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण पनि गरेका थिए ।
उनले गत वर्षदेखि उक्त बैंकमा पूर्णकालीन कर्मचारीका रूपमा काम थालेका थिए । त्यसअघि उनले त्यहाँ तीन वर्ष इन्टर्नका रूपमा काम गरेका थिए ।
अधिकारीहरूका अनुसार यसअघि उनले कुनै अपराध गरेको अभिलेख छैन ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त बैंकले ती व्यक्तिलाई केही दिनअघि जागिरबाट निकालिने जानकारी दिएको थियो । सोमवार कार्यालय जानुअघि उनले गोलीकाण्डको योजनाबारे एउटा टिपोट पनि लेखेको सञ्चार माध्यममा प्रकाशित विवरणहरूमा उल्लेख गरिएको छ ।
प्रहरीको गोली लागेर ती आक्रमणकारीको समेत मृत्यु भएको छ ।
प्रतिक्रिया