बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थामाथि अहिले भइरहेको आक्रमण नरोके वैदेशिक लगानी बन्द हुनसक्ने भन्दै बैंकर्स संघले चिन्ता व्यक्त गरेको छ । बिहीबार पत्रकारहरुसँगको नियमित भेटघाटमा संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अहिले भइरहेको अराजक गतिविधिले विदेशी दाताहरुमा पनि नकारात्मक असर परिरहेको र यसले नेपालको छवि बिग्रिने र वैदेशिक लगानी बन्द हुनसक्ने बताएका हुन् ।
‘बैंकिङ क्षेत्रमाथि भएको हमलाले समग्र आर्थिक विकासलाई समस्या पर्छ’, संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘एउटा वा दुइटा बैंक माथिको आक्रमणको रुपमा मात्र यसलाई हेरिनु हुँदैन ।’
केसीले अहिले केही बैंकहरुले विदेशबाट पैसा ल्याइरहेको अवस्थामा बैंकविरुद्ध भएका गतिविधिले नेपालका बैंकप्रतिको विश्वास गुम्दै जाने र पैसा आउन बन्द हुने दाबी गरेका हुन् । अहिले सडकबाट भइरहेको आक्रमण बैंकमाथि मात्रै नभएर चार करोड ८४ लाख खातावालाहरुमाथि भएको रुपमा लिनुपर्ने उनको जिकिर छ । बैंकबाट ऋण लिनेहरुले ऋण तिर्दिन भन्ने गर्दा निक्षेपकर्ताको पैसा समेत जोखिम पर्छ । त्यही भएर बैंक तथा वित्तीय संस्थामाथि हुने जुनसुकै अवाञ्छित गतिविधिको विदेशीले विरोध गर्ने गर्छन् । नेपालमा बैंक नै सुरक्षित छैन भन्ने सन्देश गएमा ठूलो आर्थिक झट्का लाग्नेछ ।
बाह्य क्षेत्र सकारात्मक रहेको, बैंकमा तरलता सहज बन्दै गएको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा बैंकमाथि आक्रमण हुँदा अन्तर्राष्ट्रियस्तरमा देशकै छवि बिग्रिने बताइएको छ । उनले अहिले नेपालका बैंकहरुको स्थिति खराब नरहेको दाबीसमेत गरे । निक्षेपको वृद्धिदर विस्तारै बढ्दै गएकोले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
नेपालको सार्वभौम रेटिङ नभएको, प्रत्यक्ष विदेशी लगानी घटिरहेको समयमा यस्ता घट्नाले विदेशी लगानी तथा ऋण प्राप्तिमा थप समस्या हुने उनको भनाइ छ ।
प्रतिक्रिया