महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन परियोजनालाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन परियोजनालाई आर्थिक सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग गरेको छ । बैंकले सुदुरपश्चिमका जिल्लामा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्क्स नेपालद्वारा संचालित परियोजनालाई आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।

एक्सन वर्कस नेपालले सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका प्राेजेक्ट संचालन गर्दै आएकाे छ ।

संस्थाकाे अनुसार छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिनेछ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुन: प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने संस्थाले जनाएकाे छ ।

यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले आर्थिक सहयोग गरेको जनाएको छ । आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले उल्लेख गरेको छ ।