एनआईसी एशिया बैंकका कर्मचारी माथि आक्रमण, सुरक्षाको व्यवस्था मिलाउनका सिबिफिनको माग

एनआईसी एशिया बैंकका कर्मचारी माथि आक्रमण, सुरक्षाको व्यवस्था मिलाउनका सिबिफिनको माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकका कर्मचारी माथि भौतिक आक्रमण भएको छ । म्याग्दी जिल्लाको एनआईसी एसिया बैंकमा कार्यरत विनोद सापकोटा र प्रकाश आलेमाथि एक समुहले भाैतिक आक्रमण गरी घाइते बनाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने, कर्मचारीमाथि आक्रमण गर्ने जस्ता जस्ता अराजक गतिविधि मौलाउँदै गएको बेलामा यस्तो आक्रमण भएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि गरिएको सांघातिक आक्रमणप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले आपत्ति जनाएको छ । जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखलाले बैंकिङ क्षेत्र असुरक्षित बनाएको छ । उल्लेखित घटनाप्रति बैंक तथा वित्तीय सस्था परिसंघ (सिबिफिन)ले घोर भत्सना गरेको छ ।

निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्र माथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत सिबिफिनले सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकाय समक्ष जोडदार माग गरेको छ ।

आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन परिसंघले आग्रह गरेको छ ।

केही दिनअघि मात्र गृहमन्त्रालयले देशभरका सीडीओलाई बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिन निर्देशन दिएको थियो ।