त्यो गाउँ हैन, जेष्ठनागरिकको घर हो 

त्यो गाउँ हैन, जेष्ठनागरिकको घर हो 


मनोज रेग्मी ।
समय बदलियो । परिवेश फेरियो । साथमा गाउँघर पनि फेरिए। संघियतापश्चात मुलुकको व्यवस्था बदलिएको छ । गाउँ–गाउँ, बस्ती–बस्तीमा सिहंदरबार पुगेको अनुभुति गरिएको छ । मोटरबाटो खन्ने होडबाजी चलेको छ । घर–घरमा रोजगारको नारा चलेको छ । केही होला की भन्ने झिनो आशा अझै पनि बाँकी छ । गोठमा गाईवस्तु छन् । करेसाबारीमा तरकारी । खेतमा धान । बारीमा मकै । बनमा बाँदर रगमगाएका छन् । सबै छन् । छैनन् त केवल युवा । युवा नहुँदा गाउँ, गाउँघर जस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता छैनन् । मुलुकमा आएको ठुलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० पास गरेपछि शहर पस्छन् ।  १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । ‘फलानोको छोरो जापान गइसक्यो । तँ के हेरेर बसेको छस्’ एकजना बुढा बाउले छोरालाई कराएको वल्लोघरदेखि पल्लोघर सुनिन्नछ । अनी त्यसपछि त किन हतार नहोस् । युवालाई गाउँमा पैसा कमाउने दवाव छ । उनीहरुमा विदेश जाने एक प्रकारको प्रतिसपर्धा नै चलेको छ । यि सबै दृष्य आँखै अगाडी देख्दा यस्तो लाग्छ ति पुराना गाउँहरु, अहिले गाउँ होइनन् । 

स्याङ्गजा जिल्लाको भिरकोट नगरपालिका–८ भित्रको गाउँ, बढहरे–आँगेटारी । माथिल्लो हैन्, तल्लो बढहरे । यस्तै परिवेशसँग मिल्ने एक प्रतिनिधि गाउँ हो । जहाँ रेमिट्यान्स र फेरिएको जीवनशैली पाइन्छ । गाउँमा जम्मा १० घर छन् । घरको एक जना सदस्य विदेशमा छन् । अझ त्यसमा पनि आधाजसो अमेरिकामा ‘सेटल’ छन् । उनीहरु उता रमाएका छन् । यहाँ बुढा आमाबुबा । यसभित्र कति भयानक दुःख र कहर छ भन्ने थोरैले बुझेका छन् । यहाँ पुग्दा तन्नेरी मान्छे भेटिँदै भेटिदैन् । त्यहाँबाट माथिपट्टि पनि माथिल्लो बढहरे छ । तलको बाहुन बस्ती । माथि गुरुङ्ग र मगरको । त्यहाँ पनि  २० घरदुरी छन् । तर, युवा भेटिँदैनन् । जता गएपनि कपाल सेताम्य फुलेका बुढा बाआमा मात्र भेटिन्छन् । कोही लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै छन् । त कति रोगी शरिर लिएर घरको पेटी र आगँनमा बसेका छन् । उनीहरुलाई बास्तममा पैसा चाहिएकाृे छैन । रेमिट्यान्सको आवश्यकता पनि छैन । उनीहरु त केवल हेरचाह गर्ने, स्याहार–सुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका छन् । तर, उनीहरुले छोराछोरी विर्सिएका छैनन् । दिनहुँ बात हुन्छ । कहिले फोनमा त कहिले फेसबुकमा । मुख हेराहेर गर्न पाउँदा उनीहरु अत्यान्तै खुशी हुन्छन् । अनी भक्कानीदै रुन थाल्छन् र भन्छन्‘ फोनबाट आमा बा भनेर बोलाएर के भयो ? नजिकै बसेर पानी पिउनु हुन्छ भनेर एक बचन सोध्ने कोही छैन् । ’ बिचरा बा आमा । सन्तानको अभावमा अनायासै आँखाबाट आँसु बर्षिन्छन् । 

अहिले सबैथोक पैसा ठान्ने जमना आयो । छोरा बुहारी सबै परिवार परदेशी भुमिमा काममा व्यस्त हुन्छन् । उनीहरुलाई पैसाकै ध्याय छ । गाउँमा जग्गा किन्ने पर्तिशपर्धा चलेको छ । सबै कुरा भुलेर पैसाकै पछि लाग्ने होड छ । तर, पैसा मात्र सबथोक होइन रहेछ भन्ने यी गाउँका बुढा बाआमालाई महशुस भइसकेको छ । अहिले एक घरमा कम्तीमा महिनाको १ लाख रेमिट्यान्स आउँछ । अधिकाशंको पोखरा काठमाडौमा घर छ । घर नभएपनि जग्गा छ । तर रेमिट्यान्सले पैसा त आयो तर पैसासँगै खुशी आएको छैन । गाउँमा रहेका बृद्ध बुवाआमाको स्याहार सुसारमा अभाव भएपनि शहर झर्ने उनीहरुको इच्छा भने छैन । गाउँको चिसो पानी, उर्बर माटो र त्यही माटोमा लडिबुडी खेलेर हुर्केको जवानी त्यती सजिलै विर्सन तयार छैनन् । उनीहरुमा गाउँप्रतिको अगाध प्रेम अझै छ । 
यो समस्या बुढेसकाल लागेका बाआमाहरुको मात्र होइन, यो ति तमाम गाउँहरुको हो । जसको प्राकृतिक छटा, त्यो चिसो हावा पानीमा स्वच्छन्द जिन्दगी बाँच्ने सौभाग्य छोडेर रेमिट्यान्स रहरमा बिलासिताको शहर दुनियाँको शौख बन्दैछ । जसका कारण दैनिक गाउँ रित्तिने जोखिम छ । अब गाउँहरु गाउँ नरहेर बृद्ध आश्रम बन्ने पक्का छ । 

कोरोना कहरः विदेशबाट युवा फर्काउने राम्रो अवसर 

यतिबेला विश्भर कोरोना महामारी चर्केको छ । अर्थतन्त्र डामाडोल छ । नेपालमा पनि यो फैलिएको छ । गाउँका क्वारेन्टाइन यतीबेला विदेशीएका युवाले भरीभराऊ छन् । विदेशिएका नेपाली स्वदेश फर्किन थालेका छन् । उनीहरुमा पुनः विदेश फर्केर रोजगारनी गर्ने रहर छैन । युवाहरु ‘इनफ इज इनफ’ भन्दै सडकमा उत्रिन थालेका छन् । अर्कातिर, शिथिल अर्थतन्त्रका कारण खाडी देशहरूले आफ्ना ठुला ठुला उद्योग–कलकारखाना बन्द गर्ने संघारमा पुगेका छन् । यसले गर्दा खाडीमा काम गरिरहेको ठूलो संख्याका नेपालीहरूले रोजगारी गुमाउनेछन् । यस्तोमा खाडी मुलुकमा कार्यरत करिब ३५ लाख नेपाली युवामध्ये अधिकांश स्वदेश फर्किनेछन् । यसले नेपालको जनसांख्यिक सूचकमा व्यापक फेबदल ल्याउने प्रष्टै छ । 

जब वैदेशिक रोजगारीबाट युवाहरू घर फर्किन्छन्, रेमिटान्सका भरमा शहरमा बसेका परिवार गाउँ पुग्नेछन् । त्यसपछि गाउँमा पुरानो परिवेश फेरि फर्किनेछ । मुलुकका युवाले देशमै केही इलम गर्नेछन् । गाउँहरू हिजोजस्तो दुर्गम, यातायात र सञ्चारविहीन हुने छैनन् । यसले गर्दा ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढ्नेछ । विदेशमा काम गरेर फर्केका कामदारमा कुनै कुनै सिप हुन्छ । सोही सिप स्वदेशमै प्रयोग गर्दा अत्यान्तै उत्तम हुन्छ ।

गाउँ गाउँमा विकास हुनेछ । समृद्ध बन्ने छ । अहिलेको अवस्थालाई अभाव होइन अवसरको रुपमा लिई यो सपनालाई साकार पार्न सरकार लाग्नुपर्छ ।  गाउँमा पैदलमार्ग, परम्परागत एवंम ऐतिहासिक स्थल, ताल, खोला, झरना आदिलाई पर्यटन केन्द्र बनाउन सक्छन् । स्थानीय परिकार र संस्कृतिको स्वादमा होम स्टेहरू सञ्चालन गर्न सक्छन् । उनीहरूमा उत्साह भर्न तीनै तहका सरकार लागिपर्नुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।