नेपालमा हवाई उद्योगका लागी कस्ता जनशक्ति उत्पादन भइरहेका छन् ?

नेपालमा हवाई उद्योगका लागी कस्ता जनशक्ति उत्पादन भइरहेका छन् ?


काठमााडाैं – विश्वमै कनेक्टिभिटीकाे उत्कृष्ट माध्यममा हवाई क्षेत्रको विकास तीव्र गतिमा भइरहेकाे छ। नेपालमा रहेकाे भाैगाेलिक विकटता जुन परेलीको तरेलीमा त राम्रै देखिन्छन्। त्यही राम्रो देखिने अग्ला अग्ला भीमकाय पहाडले गर्दा सडक यातायातको सञ्जाल जोड्न गाह्रो छ। त्यसकारण पनि पछिल्लाे समय यातायातको माध्यमका रूपमा हवाई उद्योगको विस्तारले तीव्रता पाइरहेको छ।

नेपालमा वायुसेवा कम्पनीको विस्तार भइरहँदा जनशक्तिको पनि आवश्यकता पर्छ। त्यसका लागी अधिकांश जनशक्ति बाहिर पढेर आउने गरेका छन्। आफ्नो देशलाई चाहिने जनशक्ति आफ्नै देशमा उत्पादन गर्नुपर्छ भनेर केही संस्थाले निजी क्षेत्रबाट काम गरिरहेका पनि छन्। नेपालमा हवाई उद्योगमा जनशक्तिको कतिको खाँचो छ ? उत्पादित जनशक्तिको खपत अनि पेसागत विकासको अवस्था, अहिलेको पुस्तामा हवाई उद्योगलाई पेसा बनाउने आकर्षण कस्तो छ ? यस उद्योगलाई चाहिने कस्ता जनशक्ति उत्पादन भइरहेका छन् ? यसै सेरोफेरोमा रहेर सन् २०१८ बाट हवाई क्षेत्रका लागी नेपालमै प्राविधिक जनशक्ति उत्पादन गरिरहेको ‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ का सह–संस्थापक तथा कार्यकारी निर्देशक मोतीराम इटानीले कार्यक्रम ‘एभीएसन टक’ का लागी सुरेन्द्र कट्टेलसँग गरेको कुराकानीको सम्पादित अंश : 

‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ ले हवाई उद्योगका लागी कस्ता जनशक्ति उत्पादन गर्छ ? 

एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीलाई हवाई उद्योगाका लागी  इन्जिनियरिङ संकाय अन्तर्गत रहेर प्राविधिक जनशक्ति उत्पादन गर्ने स्कुल भनेर चिनिँदै आएको छ । सन् २०१८ बाट युरोपेली संघ (ईयू) को मापदण्डमा रहेर एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ कोर्सको अध्ययन गराई रहेका छौँ । यसलाई हामी विस्तारित रूपमा अघि बढाउने प्रयासमा समेत छौँ । उड्डयन बहुआयामिक  प्रकृतिको उद्योग हो। यसमा जहाज डिजाइन गर्ने बनाउने देखी उडान गर्ने लगायत धेरै प्राविधिक तर्फका क्षेत्रहरू छन्। त्यसलाई मध्यनजर गरेर हामीले फिट टू फ्लाईको अवधारणा अनुसार प्राविधिक जनशक्ति उत्पादन गरिरहेका छौँ। 

उत्पादित जनशक्ति खपत र पेसागत विकासको अवस्था कस्तो छ ? 

गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर जनशक्ति उत्पादन भएकाले प्रतिफल पनि उत्साहजनक छ। उत्पादित जनशक्तिको कार्य क्षमतामा कुनै पनि कमी देखिएको छैन । राम्रो क्षमता प्रदर्शन गर्नुका साथै विश्व बजारको जनशक्तिका रूपमा स्थापित हुने क्रममा छन्। त्यसको उदाहरण नेपाल बाहिर गएर पनि आफ्नो क्षमताले काम गरिरहेका छन्।

तपाई आफूँ पनि एरोनटिकल इन्जिनियर हुनुहुन्छ सेवा प्रदायक क्षेत्रमा भन्दा  व्यवसायी जनशक्ति उत्पादनमा कसरी आर्कषित हुनु भयो ?  

हामी सधैं सेवा प्रदायक मात्र नभएर उत्पादन मुखी बनुपर्छ भन्ने कुराबाट प्रेरित भएर हामीले यो स्कुल खोलेर प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएका हौँ। यो उद्योगलाई धेरै प्राविधिक जनशक्तिको खाँचो छ। उत्पादनलाई ध्यानमा राखेर यस उद्योगको दायरा बढाउनु पर्छ भने जनशक्ति उत्पादनमा जोड दिनै पर्छ। अरूले गर्छ भन्दा पनि यसमा आफैँ गरौँ भनेर उत्पादनमूलक क्षेत्रमा हात हालेका हौँ। नेपाललाई चाहिने जनशक्ति आफैँ उत्पादन गर्नुपर्छ भन्ने कुरालाई मुल मन्त्र बनाएर अघि बढी रहेका छौँ।

उड्डयनको क्षेत्रमा जनशक्ति उत्पादन गरिरहँदा हवाई उद्योगको अवस्थालाई कसरी निहाली रहनु भएको छ ?  

रचनात्मक दृष्टिकोणबाट हेर्दा यो उद्योग उत्पादनमूलक र सम्भावनाको उद्योग हो। यस क्षेत्रमा सरकारले पनि केही नगरेको भन्न मिल्दैन। नयाँ–नयाँ आयामहरू थपिरहेका छन्। हवाई उद्योग र पर्यटनलाई जोडेर बढीभन्दा बढी प्रतिफल लिन तर्फ अग्रसर हुनु पर्छ। भूगोललाई चुनौति मात्र नठानेर यसलाई अनुकूल कानुन बनाउनतर्फ ध्यान दिँदै भूगोललाई हेरेर सञ्चालन हुनु पर्याे । भौगोलिक कारणले मात्र नेपालमा हवाई क्षेत्रमा समस्या छैन त्यसले सृजना गरेको अवसरलाई हासील गर्ने तर्फ ध्यान दिनुपर्छ । 

यस उद्योगमा योग्य जनशक्ति पर्याप्त छन् की अभाव छ ?  

वर्तमान अवस्थामा योग्य जनशक्तिको अभाव छ। जनशक्ति उत्पादन गर्ने अभ्यास अलिक अगाडिबाट सुरु भएको थियो भने सायद अहिले जनशक्ति खपतको केही समस्या हुँदैन थियो। राज्यले पनि यस क्षेत्रको विकासका लागी काम गरिहरेको छ। अब जनशक्ति उत्पादनको क्षेत्रमा काम गरिरहेका केन्द्रहरूलाई उत्प्रेरणा प्रदान हुने तथा सहजीकरणको काम गर्छ भन्ने कुरामा आशावादी बन्ने ठाउँ छ । 

अहिलेको पुस्तामा हवाई उद्योगप्रतिकाे आकर्षण कस्तो पाइरहनु भएको छ ।  

यो उद्योगमा सम्भावना  धेरै  भएकाले करियर विकासको हिसाबले आकर्षण राम्रो पाएको छु । यो क्षेत्र विस्तारित प्रकृतिको भएकाले भविष्यमा वृद्धी विकासको सम्भावना प्रशस्त  भएकाले यस क्षेत्रका बारेमा धेरै खोज अनुसन्धान पनि भइरहेको हुन्छ । हामी विभिन्न सचेतनामूलक कार्यक्रम लिएर देशका विभिन्न भाग जाँदा विद्यार्थीहरुमा उत्साह पाउँछौँ। यसले प्रतिस्पर्धाको क्षेत्र पनि फराकिलो हुन्छ। फलस्वरुप:  उद्योगमा पनि योग्य जनशक्ति परिपूर्ति हुन्छ। यो क्षेत्रको अध्ययन पछि पाउने पारिश्रमिक राम्रो हुने भएकाले आकर्षणको अर्को इट्टा यसले पनि थपेको छ।