यसरी बढाउन सकिन्छ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान

यसरी बढाउन सकिन्छ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान


काठमाडौं – नेपालमा संख्याका हिसाबले हेर्दा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् तर सञ्चालनको हिसाबले हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अरु पनि अन्तर्राष्ट्रिय विमानस्थल छन् र भन्ने विषयमा विमति गरिरहनु पर्दैन । जुन तामझामका साथ भैरहवाको र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलहरु उद्धघाटन भएका थिए । अहिले अन्तर्राष्ट्रिय उडान भर्न नसकेर त्यही तामझामले गिज्याइरहेको छ । कतिपयले त यी विमानस्थल अदूरदृष्टीको परिणाम पनि भन्ने गरेका छन् । सरकारले निर्माणाधिन विमानस्थलसहित सबै अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी अर्थात ‘पीपीपी’ मोडेलमा लाने कुरा पनि गरिरहेको छ। यसै क्रममा त्रिभुवन विमानस्थलबाट भर्खरै सरुवा भएर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका प्रतापबाबु तिवारीले पूर्ण रूपमा विमानस्थल सञ्चालन गर्नका लागी १० वटा विषयमा ध्यानदिनु पर्ने सुझाव अघि सारेका छन् ।

गौतम बुद्ध विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय हवाई अड्डाको रुपमा रहेको छ । यो विमानस्थल २०७१ साल माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए भने २०७९ सालबाट सञ्चालनमा आएको थियो । सात अर्ब १९ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलका लागि एशियाली विकास बैंक, ओपेक कोष, नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले लगानी गरेका थिए। यो विमानस्थल नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल भएकाले धार्मिक पर्यटनका साथै बहुआयामिक पक्षलाई समेत प्रर्वद्धन गर्दै समृद्धिको यात्रा तय गर्ने दिर्घकालीन योजना अनुरुप सञ्चालनमा आएको थियो।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमको जहाजले सातामा एउटा अन्तर्राष्ट्रिय उडान गर्ने गरेको छ। करिब एक वर्ष नियमित उडान गरेको कुवेतको जजिरा एयरवेजले केही समय अगाडिबाट उडान नै बन्द गरेको छ । व्यवस्थापनका तर्फबाट तिवारीले प्रस्तुत गरेको विषयमा विमानस्थल नियमित सञ्चालन विषय समग्र मुलुकको संयन्त्रसँग जोडिएको भन्दै पर्यटन, अर्थ, स्वास्थ्य, उद्योग र परराष्ट्र मन्त्रालयको भूमिका बढी रहने उल्लेख गरिएको छ । तिवारीले राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजोतित विधायन समितिमा १० वटा विषयमा काम गर्न सकेमा यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू बढ्ने जनाइएको छ ।

गौतमबुद्ध विमानस्थललाई तिवारीका १० सुझावहरु :

१. हाल आइएलएस (उपकरण अवतरण प्रणाली) कम भिजिबिलिटीमा अवतरण गर्ने विधि सीमित एयर स्पेसका कारण सञ्चालनमा आउन नसकेको अवस्थामा अहिले पनि आइएफआर प्रविधिमा मात्रै उडान अवतरण भएको छ। यो विधिबाट उडान अवतरण न्यूनतम १८ सय मिटर भिजिबिलिटी चाहिन्छ । जाडो मौसममा अन्तर्राष्ट्रिय उडान होल्ड, डाइभर्ट हुनु परेका कारण उडान नियमित हुन नसकेको अवस्थामा यसको विकल्पको रूपमा प्राधिकरणले भू–उपग्रहमा आधारित आरएनपी एप्रोच विधि सञ्चालनमा ल्याउनु पर्नेछ। यो बनाउँदा थप खर्च पनि नलाग्ने र एक हजार मिटर भिजिबिलिटीभन्दा कम आइएलएसको सरहमा अवतरण गर्न सक्ने सम्भावना हुन्छ। यसको कारबाहीको लागि विमानस्थल कार्यालयबाट प्राधिकरण प्रधान कार्यालयमा अनुरोध भइसकेको छ।

२. गत वर्षको बजेट नीति तथा कार्यक्रममा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयले हवाई भाडा बढेको गुनासो सहित विभिन्न वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउन माग गरी आएका छन्। यस विमानस्थलबाट उडानका लागि यात्रु आकर्षित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा हवाई भाडा सस्तो हुनु पर्नेछ। त्यसका लागि हाल प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा चार्ज छुट दिइरहेको छ। यात्रु सेवा दस्तुर र ग्राउन्ड ह्यान्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने, यहाँबाट उडान गर्ने अन्तर्राष्ट्रिय उडानका लागि मात्र इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा महँगो नपर्ने गरी इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिनुपर्छ। यसो हुँदा अन्तर्राष्ट्रिय उडानको हवाई भाडा कम हुन गई यात्रु यस विमानस्थल प्रयोगमा आकर्षित हुने माग भइ आएकोले यस सम्बन्धमा आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा सम्बोधन हुनु पर्नेछ।

३. हाल नेपाल वायुसेवा निगमले हप्तामा एक वटा उडान मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध विमानस्थलमा गरिरहेको छ। जसमा सोचे अनुरूप यात्रु आएका छैनन्। विगतमा जजिरा एयरवेजले खाडी मुलुकबाट सीधा उडान गरे पनि विविध कारण देखाउँदै उडान बन्द गरेको छ । नेपालका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सबाट चीन, भारत र बुद्धिष्ट मुलुकका विमानस्थलमा समेत क्रमशः नेटवर्क विस्तार गराउँदा विमानस्थल र उडानका प्रचार–प्रसार हुने र अन्य वायुसेवालाई पनि उडान थाल्ने गर्न आधार तय हुने देखिन्छ।

४. यस विमानस्थललाई ट्रान्जिट कार्गोको रूपमा विकास गर्न तथा ट्राफिक लोडका लागि नेपाली वायुसेवाले सेवा दिन नसक्ने अवस्थामा अन्य मुलुकका वायुसेवाका लागि फिफ्थ फ्रिडम राइट प्रदान गरी विमानस्थलको उपयोग बढाउने नीति पर्यटन मन्त्रालयलले लिनुपर्नेछ।

५.यस विमानस्थललाई सबै वाइडबडी वर्गको जहाजको लागि त्रिभुवन विमानस्थलको विकल्पको रूपमा तयार गर्न नेपाल वायुसेवा निगमले वाइडबडीलाई समेत हुने गरी ग्राउन्ड ह्यान्डलिङ उपकरण र जनशक्तिको व्यवस्थामा ध्यान दिनुपर्ने।

६. अहिले खाडी मुलुकमा रोजगारको लागि जाने यात्रुले मेडिकल टेस्ट काठमाडौंको तोकिएको टेस्ट सेन्टरबाट मात्र गर्दै आइरहेका छन्। यात्रुको लागि काठमाडौं जानु पर्ने झन्झटका कारण विगतमा हिमालय एयरलाइन्सको उडान समेत प्रभावित हुन पुगेको थियो। भैरहवाको सरकारी अस्पतालबाट टेस्ट गर्न सक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित मुलुकमा पहल हुन पर्ने।

७. भैरहवामा म्यानपावर कम्पनी अफिस खोल्ने व्यवस्था श्रम मन्त्रालयले मिलाइदिनु पर्ने ।

८. धनगढी- नेपालगञ्ज भैरहवा, चन्द्रगढी- विराटनगर- जनकपुर–भैरहवा अन्तर प्रदेश उडान सञ्चालन गरी यात्रुका लागि सहज आगमन गराउन आन्तरिक वायुसेवा कम्पनीसँग उड्डयन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणले छलफल गर्नुपर्ने ।

९. उपयुक्त ब्यवस्था मिलाई खाडी मुलुकका वायुसेवाले त्रिभुवन विमानस्थलबाट गर्ने कुल उडानको २० प्रतिशत उडान भैरहवाबाट गर्नुपर्ने र थप उडान माग गर्ने वायुसेवालाई त्रिभुवन विमानस्थलमा नभएर भैरहवामा स्लट व्यवस्था मिलाउनुपर्ने ।

१०. यात्रुहरूको लागि विमानस्थल आवागमन गर्न सहज यातायात व्यवस्था र यात्रुको चाहना अनुकूलको थप सुविधा स्थानीय निकायले व्यवस्था गर्ने ।

खाडी मुलुकमा उडान गर्नेमध्ये २० प्रतिशत उडान गौतम बुद्धबाट, अन्तरप्रदेश उडान केन्द्रको रुपमा विकसित , भैरहवामा म्यानपावर कम्पनीको अफिस खोल्ने व्यवस्था श्रम मन्त्रालयले मिलाइदिनु पर्ने, रोजगारीमा जानेको स्वास्थ्य परीक्षण भैरहवामै गर्न अनुमति देनुपर्ने , स्वदेशी वायुसेवाकै सक्रियता बढाउने, काठमाडौंभन्दा कम भाडामा उडाउने प्रस्ताव गर्ने लगायतका विषयलाई जोड दिएको छ ।