उपसभामुख राना : पत्रसम्बन्धी विवाद निकाल्नु म विरुद्धको नियोजित कदम


काठमाडौं – उपसभामुख इन्दिरा रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको पत्रसम्बन्धी विवादमा प्रष्टीकरण दिएकी छिन्। उनले आफूबाट कुनै अनैतिक कार्य नभएको दाबी गर्दै सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणालाई स्वीकार गरेको बताइन्।

रानाले करुणा भावले सहयोग गर्न खोजेको विषयलाई अहिले विवादित बनाउन खोजिएको भन्दै यसलाई आफू विरुद्धको नियोजित कदमका रूपमा चित्रण गरिन् । अमेरिकालगायत अन्य मुलुकमा कार्यक्रमको सिलसिलामा यात्रा गरिरहेको उल्लेख गरिन् । 

विज्ञप्तिमा, उनले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोध गरेको र भिसा दिने वा नदिने निर्णय राजदूतावासले नै गर्नेमा समेत जोड दिएकी छिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भई उपसभामुखको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । उपसभामुख रानाले सार्वजनिक जीवनमा आफूले कुनै अनैतिक कार्य नगरेको र निरन्तर नेपाल र नेपालीको सेवामा समर्पित रहेको जानकारी दिएकी छन् ।