कुमारी बैंक ऋण प्रकरणमा गरिएको निर्णयको चौतर्फी प्रशंसा, व्यवस्थापकीय चालाखीपनले १३ जना कारवाहीबाट जोगिए, सीइओ र डेपुटी सीइओ निर्दोष

कुमारी बैंक ऋण प्रकरणमा गरिएको निर्णयको चौतर्फी प्रशंसा, व्यवस्थापकीय चालाखीपनले १३ जना कारवाहीबाट जोगिए, सीइओ र डेपुटी सीइओ निर्दोष

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन प्रकरणमा कुमारी बैंकको व्यवस्थापकीयको परिपक्क निर्णयले १३ जना जोगिएका छन् । सो ऋण प्रकरणमा बैंकले परिपक्क निर्णय गरेकाले बैंकका कर्मचारीसहित १३ जना बैंकिङ्ग कसुर मुद्दा चल्नबाट जोगिएका हुन् ।

योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन प्रकरणमा बैंकले मुद्दा पर्नुभन्दा पहिलानै ऋण असुल गरिसकेकाले विशेष सरकारी वकिल कार्यालय काठमाडौँले बैंकिङ्ग कसुर मुद्दा चलाउन अस्वीकार गरेको थियो ।

बैंकिङ्ग कसुर मुद्दा विशेष सरकारी वकिल कार्यालय मार्फत मात्रै अदालतमा दर्ता गर्ने व्यवस्था छ । केन्द्रीय अनुसन्धान ब्युरोले कुमारी बैंकको न्यूरोड स्थित कर्जा शाखाका प्रमुख गोपाल जोशी सहित १३ जनालाई विपक्षी बनाएर मुद्दा चलाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

अनुसन्धानबाट कर्जा प्रवाहमा कुमारी बैंकको वीरगन्ज शाखाका कर्जा प्रमुख राजेश्वर प्रसाद शाह, केन्द्रीय कार्यालय स्थित कर्जा विभागमा कार्यरत अजित राई, न्यूरोड शाखाका कर्जा प्रमुख गोपाल जोशी र वीरगन्ज शाखाका सोनु ठाकुरको संलग्नता खुलेको थियो ।

यो पनिः 

ब्युरोले जग्गा मूल्याङ्कनकर्ता राजेश कुमार चौरसिया, किर्ते कागजात बनाएर ऋण लिनेहरू कुशन प्रधान, उविन्द्र राज शाक्य, शोभा शाक्य, ईश्वर पोखरेल ‘सफल’, रेशम बहादुर सिलवाल, मुक्तिनाथ गौतम, यस कुमार महर्जन र विजय कुमार शाक्यलाई बैंकिङ्ग कसुर मुद्दा चलाउन सिफारिस गरेको थियो ।

बारामा अमात्यको नाममा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैंकको न्युरोड शाखाबाट १९ करोड ऋण लेनदेन गर्ने समूहबारे सिआईबीले बैंकिङ्ग कसुरमा अनुसन्धान गरेर विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, बुधवार विशेष सरकारी वकिल कार्यालयले सो मुद्दा अगाडी नबढाउने निर्णय गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि नक्कली पुर्जा बनाएर १९ करोड ऋण लिने समूहका कुसन प्रधान, एसके महर्जन, मुक्तिलाल गौतम र कुमारी बैंकको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुरलाई सरकारी लिखत ‘किर्ते’ मुद्दा चलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सो समूहलाई बैंकिङ्ग कसुर मुद्दा पनि चलाउन निर्देशन दिएको थियो ।

अमात्यको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा लेनदेन गरिएपनि मालपोत कार्यालयको अभिलेखमा भने सो जग्गा अमात्यकै नाममा छ । नक्कली पुर्जा राखेर कर्जा लिएको थाहा पाएपछि बैंकले सो समूहलाई अर्को धितो राख्न लगाएर कर्जा असुल गरेको थियो । त्यही आधारमा टेकेर विशेष सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनमा अमात्यको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको र सो ऋण चुक्ता गरेको उल्लेख गरिएको छ । कागजात किर्ते गरेर ऋण लिएको विषय राफसाफ भैसकेको देखिएको हुनाले सो निर्णय गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जिकिर गरेको छ । 

लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले नक्कली कागजात बनाएर जग्गा किन्ने यश कुमार महर्जन ‘एसके’, मुक्तिलाल गौतम र कुमारी बैंकका कर्मचारी सोनु ठाकुरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जग्गा मूल्याङ्कनकर्ता कन्सल्ट्यान्ट राजेश कुमार चौरसिया भने १ लाख धरौटीमा छुटिसकेका छन् । कुसन सहित ४ जनालाई ब्युरोले कात्तिक ११ मा र राजेश चौरसियालाई कात्तिक २१ मा पक्राउ गरेर अनुसन्धान गरेका थियो ।

काण्डको बास्तविकता बाहिर आएपछि भने यो घटनाको चौतर्फी चासो बढेको थियो । यो काण्डमा बैंकको उच्च तहका कर्मचारीको बुद्धिमानी निर्णयले ठूलो दुर्घटनाबाट जोगिएको छ । बैंक व्यवस्थापकीय नेतृत्वबाट भएको यस्तो रणनीतिक निर्णयको अहिले आर्थिक क्षेत्रमा चौतर्फी प्रशंसा गरिएको छ  ।