एचआइडीडिसीएल कम्पनीको साधारण सभा पुस २२ गते, ८.४२ % लाभांश प्रस्ताव

एचआइडीडिसीएल कम्पनीको साधारण सभा पुस २२ गते, ८.४२ % लाभांश प्रस्ताव

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट (एचआइडीडिसीएल) ले पुस २२ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २० गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसार, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

 सभा भर्चुअल माध्यबाट हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई पनि अन्तिम रुप दिनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको अधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब ३७ करोड ७० लाख २७ हजार छ । 

यस वर्ष कम्पनीले विगत दुई आर्थिक वर्षकै कम लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले गत वर्ष १२ प्रतिशत कर समेत नगद लाभांश मात्र वितरण गरेको थियो । यस वर्ष भने कम्पनीले बोनस शेयरमा जोड दिएको छ । कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । 

उक्त अवधिमा सर्वसाधारणतर्फको अवितरित शेयर विक्री भएपछि संस्थापक तर्फको शेयर भने वितरण हुन सकेन । कम्पनीले संस्थापक तर्फको शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम एक करोड कित्ताको सीमाका कारण उक्त शेयर विक्री हुन समस्या देखिएको हो । आगामी दिनमा कम्पनीले उक्त शेयर विक्री गर्न परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको उक्त व्यवस्था परिमार्जन गरेर मात्र विक्रीमा ल्याउनुपर्ने अवस्था छ ।

कम्पनीले सभा मार्फत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।