कृषि तथा उद्यममा करोडसम्म सस्तो कर्जा, बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा २ % मात्र थपेर ऋण दिनुपर्ने

कृषि तथा उद्यममा करोडसम्म सस्तो कर्जा, बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा २ % मात्र थपेर ऋण दिनुपर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा पाइने भएको छ । यी दुई शीर्षकमा एक करोड रुपैयाँभन्दा कम रकमको कर्जा आधार दरमा बढीमा २ प्रतिशत मात्र थपेर दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । 

एकीकृत निर्देशन २०७८ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । गत आर्थिक वर्षमा १५ लाख रुपैयाँसम्मको यस्तो कर्जा मात्र सस्तो दरमा प्रवाह गर्नुपर्ने निर्देशन थियो । चालु आर्थिक वर्षमा कर्जाको सीमा बढाएर एक करोड रुपैयाँ पुर्‍याएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले एक करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय भए पनि तिनको प्रकृति आयातमूलक भए यस्तो सुविधा नपाइने राष्ट्र बैंकले प्रस्ट्याएको छ । आधार दर बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार (बेस रेट) हो । स्रोत व्यवस्थापन (निक्षेप संकलन तथा व्यवस्थापन) गर्दा लाग्ने लागत जोडेर आधार दर निकालिन्छ । यही दरमा प्रिमियम थप गरेर बैंकहरूले कर्जाको ब्याजदर तोक्छन् ।

अहिले राष्ट्र बैंकले उल्लिखित शीर्षकमा तोकिएको सीमासम्म कर्जा प्रवाह गर्न आधार दरमा २ प्रतिशतसम्म मात्र थप गर्न पाउने सुविधा बैंक तथा वित्तीय संस्थालाई दिएको हो । गत आसोजसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ७.५७ प्रतिशत छ । २०७७ असोजमा यस्तो दर ७.७३ प्रतिशत थियो । 

बैंक तथा वित्तीय संस्थाले मंसिरका लागि गत असोजको ७.५७ प्रतिशत आधार दरमा २ प्रतिशत मात्र थप गरी कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । २० लाख रुपैयाँसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटरबाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा स्विकार्न सक्नेछन् । प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्नेछ ।

वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ असोजमा ७.७३ प्रतिशत रहेकामा २०७८ असोजमा ७.५७ प्रतिशत कायम भएको छ । २०७८ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.४३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो दर क्रमशः ५.४५ र ९.८३ प्रतिशत थियो ।