बैंकमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ, १८ अर्ब रुपैयाँ अधिक तरलता रिजर्भको आरोप

बैंकमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ, १८ अर्ब रुपैयाँ अधिक तरलता रिजर्भको आरोप

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
बैंकहरूले तरलता अभाव देखाएर कर्जाको ब्याजदर बढाउने दाउ छोप्न लागेको बुझिएको छ । पछिल्लो समय बैंकिङ कारोबारमा निक्षेप सङ्कलन दर ह्वात्तै घटेर गएको, तर कर्जाको माग बढ्दै गएकाले बजारमा लगानीयोग्य रकम ९तरलता० अभाव हुने सङ्केत देखिएको भन्दै बैंकहरूले ब्याजदर बढाउने सङ्केत गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय जारी गरेका बैंकङ कारोबारको मासिक तथा साप्ताहिक प्रतिवेदनहरूमा समेत तरलता अभाव देखाएका छन् । गत सोमबारमात्र वाणिज्य बैंक (मुलुकभर पूर्ण बैंकिङ कारोबार गर्ने गरी इजाजतप्राप्त गरेका ‘क’ वर्गका वित्तीय संस्था) हरूले जारी गरेको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा अधिकतम ७८ प्रतिशत निक्षेप सङ्कलन घटेको छ ।

साउनमा कुल ४ खर्ब १२ अर्ब ३ करोड रुपैयाँमात्र निक्षेप सङ्कलन हुन सकेको बैंकर्स सघंले जनाएको छ । जब कि अघिल्लो असारमा बैंकहरूमा २१० प्रतिशत निक्षेप वृद्धि भएको थियो ।

भदौ महिनाको तेस्रो सातासम्म बैंकहरूले मुस्किलले १ खर्ब २३ अर्ब ७१ करोड रुपैयाँमात्र निक्षेप सङ्कलन गर्न सकेकोमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघले जनाएको छ । 

निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी तथा कर्जा माग बढ्दा बजारमा तरलता अभाव सृजना हुने देखिएको र अन्ततोगत्वा यसले कर्जा ब्याजदर प्रभाव पार्ने बैंकर्स संघले जनाएको छ । 

बैंक हरूसँग निक्षेप सङ्कलन घटेको छ, तर कर्जाको मागमा कमी आएको छैन, बरु बढ्ने देखिन्छ । यसले बजारमा तरलता अभाव देखिने सङ्केत गरेको छ,’ संघका उपाध्यक्ष अनिल कुमार उपाध्यायले  भने, ‘यसले बैंकहरूको ब्याजदरमा प्रभाव पार्ने खतरा बढेर गएको छ । तर,अहिले नै बजारमा तरलता अभाव भने भइसकेको छैन । बैंकहरूले कर्जा प्रवाह निरन्तर गरिरहेका छन् । भोलिका दिनमा पनि समस्या नआओस् भन्ने हाम्रो चाहना हो,’ उपाध्याय बताउँछन । 

यस्तै रिपोर्ट विकास बैंकहरूको पनि छ । पछिल्लो हप्ता ०.४० प्रतिशतले विकास बैंकहरूको निक्षेप वृद्धि हुँदा अधिकतम ०।९३ प्रतिशतले कर्जामा वृद्धि भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रध्युमन पोखरेलले जानकारी दिए । 

उनका अनुसार भाद्र महिनाको दोस्रो हप्ता अधिकतम ४१ अर्ब ४७ करोड १७ लाख निक्षेप सङ्कलन र ३६ अर्ब २५ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी भएको छ । विकास बैंकहरूले तेस्रो हप्ता (भाद्र २१ गतेसम्म) कुल ४१ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दा ३६ अर्ब ५९ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यद्यपि, यो राष्ट्रिय स्तरका विकास बैंकहरूको मात्र तथ्याङ्क हो ।

अन्य क्षेत्रगत विकास बैंकहरूको भने सोही अवधिमा ०.३५ प्रतिशतले निक्षेप घटेर ०.५४ प्रतिशतले कर्जा लगानी बढेको एसोसिएसनले भनाई छ । 

बजारमा तरलता कमी छैनः राष्ट्र बैंक 

यता बजारमा तरलताको कमी नभएको राष्ट्र बैंक स्रोत बताउँछ । स्रोतका अनुसार पछिल्लो समय निक्षेपमा केही गिरावट आए पनि बैंकहरूसँग पर्याप्त तरलता रहेको र अभाव हुने अवस्था आए राष्ट्र बैंकले थेग्न सक्छ । निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर नदिएकै कारण बैंकमा अपेक्षाकृत पैसा आउन नसकेको र बैंकहरूले कर्जाको नभइ निक्षेपको ब्याजदर बढाउनुपर्ने स्रोत बताउँछ । 

तर, बैकहरूले अहिले सस्तो ब्याजदरमा झण्डै १८ अर्ब रुपैयाँ बराबरको अधिक तरलता होल्ड गरेर बसेको राष्ट्र बैंकको आरोप छ । यस्तै, बैंकहरूले तरल सम्पत्ति अनुपात अधिकतम २० प्रतिशत राखे हुनेमा थप ८ प्रतिशत बढी राखेर तरलता होल्ड गरेको समेत राष्ट्र बैंकहरू माथि आरोप लगाएको छ ।