आफ्नो अठोट र जिद्दिपनले प्रतिस्पर्धाको भीड छिचोलेर बैंकर

आफ्नो अठोट र जिद्दिपनले प्रतिस्पर्धाको भीड छिचोलेर बैंकर

अस्मिता बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कतिपयको स्वभाव हुन्छ, सोचेको काम फ्याट्टै गरिहाल्ने । उनीहरुले त्यसबाट मिल्ने प्रतिफलको पनि परिकल्पना गरिसकेका हुन्छन् । यसलाई उनीहरुको खुबी पनि भन्न सकिन्छ तर त्यो खुबीलाई प्रस्फुटन गर्न कसैको साथ र प्रोत्साहनको खाँचो पर्छ । जुन साथ परिवारको हो ।

आफुले गर्न चाहेको काममा परिवारको साथ मिले मानिसले उत्साहित भएर जस्तासुकै परिस्थितिको पनि सामना गर्न सक्छन् तर साथ नमिले आफुमा आएको जाँगर नै हराएर जान्छ । यद्यपी यो कुरा सबैमा लागु हुन्छ भन्ने छैन । कोही यस्ता मानिस पनि हुन्छन्, जसलाई न कसैको साथको खाँचो पर्छ, न कसैको प्रोत्साहनको । आफुभित्रको खुबीलाई आफ्नै मेहनतको बलमा बाहिर ल्याएर सफल भएका कैयौं उदाहरण छन्, जसलाई लक्ष्यप्रतिको जिद्दीपना अथवा कामप्रतिको लगावको उपज भन्न सकिन्छ ।

तिनै जिद्दी अनि सफल उदाहरण मध्येकी एक हुन्, बैंकर कृपा श्रेष्ठ । १५ वर्षअघि आफू स्नातकोत्तरको अन्तिम वर्षमा पढ्दै गर्दा बा आमाले ‘पढाई सक्काएर मात्र काम सुरु गर’ भन्दा नमानेर बैंकिङ्ग क्षेत्रमा होमिएकी उनी आज कुमारी बैंकको कोटेश्वर शाखाकी प्रवन्धक (ब्रान्च म्यानेजर) बनिसकेकी छिन् । यसलाई उनी आफ्नो अठोट र जिद्दीपनाले दिलाएको सफलता ठान्छिन् ।

कृपा काठमाडौंकी स्थायी वासिन्दा हुन् । सिकाई, अवसर र प्रतिफल उनका लागि नौलो विषय थिएन । आफू घरकी जेठी हुँदै गर्दा घरको आर्थिक भारलाई आफ्नो पनि योगदानले केही कम गर्न सके हुन्थ्यो भन्ने उनलाई नलागेको पनि होइन यसबीच बाआमाले स्नातकोत्तर सकेर मात्र काम गर्नुपर्छ भनेको हुनाले उनले आफुलाई रोकिरहेकी थिइन् तर आफ्नो अध्ययन बर्षको अन्तिममा पुगिसेकाले उनले आफुलाई रोक्न चाहिनन् । यसैकारण आमाबालाई जानकारी समेत नगरी उनले कुमारी बैंकमा दरखास्त दिइन् । तीन सय जनाको भिडमा प्रतिष्पर्धा गर्दै नाम निकाल्न सफल भएर कृपाले बैंकको केन्द्रिय कार्यालयबाट बैंकिङ्ग करियर सुरु गरिन् । यहाँबाट बैंकिङ्ग क्षेत्रतर्फको उनको यात्रा सुरु भयो ।

पहिलो चरणमै टेलरको जिम्मेवारी सम्हालेकी उनी भन्छिन्, ‘काम थालेपछि घरमा बुवा आमा भने सुरुमा चित्त बुझाउनुभएन तर पछि केही भन्नुभएन ।’ आफ्नै अठोट र जिद्दीपनाले काम थालेपनि बैंकको कामबारे केही थाहा नभएको भन्दै उनी भन्छिन्, ‘सुरुमै टेलरमा बसेँ । बैंकको मुख्य शाखामा काम गर्दा १२/१३ वटा टेलर थियो । त्यसमा १७/१८ जना कर्मचारी, संसार नै त्यही हो जस्तो लाग्थ्यो । शाखामा हुने अरु काम पनि थाहा थिएन ।’ टेलरमा हुँदा दिमागमा पैसाको कारोबार गर्नेहरुको लामो लाइनलाई छोटो कसरी बनाउने भन्ने कुरा मात्र आइरहने उनी बताउँछिन् ।

काम धेरै भएपनि हरेक दिन एउटै काम गरिरहँदा आफ्नो कामको स्तर बढ्दैन कि भन्ने चिन्ता पनि लाग्थ्यो । त्यसकारण काउन्टरमै बसेपनि उनलाई प्रिभिलेज काउन्टर (ठूलो परिणामको रकम राख्ने ठाउँ) मा काम गर्ने रहर जाग्थ्यो । त्यो रहरलाई उनले पुरा पनि गरिन् । ‘प्रिभिलेज काउन्टर अलि स्टान्डर्ड लाग्ने । पैसा धेरै आउने तर काम थोरै हुने । काम गरे जस्तो पनि देखिने । त्यहाँ जान पाए हुन्थ्यो भनेर ध्यानै त्यतै हुन्थ्यो । पछि त्यसमै काम गरेपनि’, उनले अनुभव सुनाइन् ।

टेलरको काम पूर्ण लगनशीलताका साथ सम्हालेकी कृपाको कामको मूल्याङ्कन गर्दै उनका सुपरीवेक्षकले उनलाई टेलर पछाडिको काम सुम्पिएका थिए । जहाँ उनले रकम व्यवस्थापन, कारोबारको विवरण राख्ने, विदेशी मुद्रा व्यवस्थापन लगायतका काम हेरिन् । त्यसपश्चात कुमारी बैंकमै रहेर ग्राहक सेवा, कर्जा विभाग, व्यापार संचालन लगायतका जिम्मेवारीलाई पार गर्दै विगत २ वर्षदेखि प्रबन्धक पदमा रहेर एउटा शाखा हाँकी रहेकी उनी कामप्रतिको लगाव र धैर्यताले एक दिन लक्ष्यमा पुग्न सफल भइने कुरामा विश्वास राख्छिन् ।

कृपा अहिले शाखा मात्र होइन आफ्नो कर्मघरको म्यानेजर पनि हुन् । कार्यालयसँगसँगै सासुससुरा, श्रीमान र ११ वर्षका छोराको जिम्मेवारी पनि निभाइरहेकी छिन् । बैंकिङ्ग क्षेत्रमा काम सुरु गरेको ३ महिनापछि नै विवाह गरेकि उनी भन्छिन्, ‘मेरो बुबाआमाले मलाई आफ्नो खुट्टामा उभिन योग्य बनाइदिनुभयो । तर त्यो योग्यतालाई व्यावहारिकतामा उतारेर आफ्नो पहिचान बनाउन सहयोग मेरो कर्मघरले गर्यो ।’

त्यही सहयोगका कारण उनी परिवार र शाखालाई कुशलताका साथ अघि बढाइरहेकी छिन् । उनी भन्छिन्, ‘घरको काम सम्हाल्न त्यति गाह्रो छैन, जति ब्रान्च सम्हाल्न छ । घरमा त सासुससुरा र श्रीमान हुनुहुन्छ केही अप्ठ्यारो लाग्यो की सोध्न र सहयोग माग्न तर बैंकमा बाथरुमको धाराको टुटी देखि लिएर अरबौंको हिसाबकिताब र क्यान्टिनको चियापत्ति देखि लिएर लोन, डिपोजिट सबै हेनुपर्छ । घरमा थाहा नभएको कुरा पनि ब्रान्च म्यानेजर भएपछि थाहा हुँदो रहेछ । त्यसैले शाखा प्रमुख भनेको महत्त्वपूर्ण र उत्तरदायी पद हो जस्तो लाग्छ ।’

शाखामा रहँदा बैंकिङ्ग कामको मात्र नभई त्यहाँका कर्मचारीको पनि जिम्मेवारी आफ्नै काँधमा आउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘म्यानेजर भइरहँदा आफ्नो ब्रान्चलाई उत्कृष्ट बनाउन सबैसँग व्यावहारिक र मिलनसार भएर लाग्नुपर्ने हुन्छ । म्यानेजर हुँ भनेर हुकुम चलाउँदै हिँडे भने कुन कर्मचारीलाई के समस्या भइराको छ थाहा हुन्न र त्यसले ‘टिम स्ट्रेन्थ’ बिग्रिन्छ र सबैजना अन्तरक्रिया गर्नै डराउँछन् । त्यसबाट शाखाले दिने सेवा सुविधाको गुणस्तर घट्छ र शाखा राम्रो बन्न सक्दैन । शाखा राम्रो नबने बैंक राम्रो बन्दैन ।’

कर्मलाई धर्म ठानी दृढताका साथ कर्मक्षेत्रमा इमान्दार रहेको खण्डमा आत्माविश्वासी, सफल अनि उदाहरणीय बन्न सकिन्छ भन्नेका लागि कृपा प्रेरणाको स्रोत बन्न सक्छिन् । जो पेसागत र व्यक्तिगत जीवनबीच सन्तुलन कायम राखेर निरन्तर अगाडि बढिरहेकी छिन् ।