काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषध विरुद्धको महाअभियान २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ। जेठ १० गते बिहान लागू औषध विरुद्धको महाअभियानमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागूऔषध विरुद्धको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालय, विभिन्न सङ्घ संस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रतिनिधि सभाका माननीय सांसद आशा झाले रिवन काटी शुभारम्भ भएको प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रम दोस्रो चरणमा विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गरेर बिधिवत रूपमा लागूऔषध विरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो। कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागूऔषध विरुद्ध सचेतनामुलक साङ्गीतिक प्रस्तुतिहरूका साथै पूर्व लागू औषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको वृत्तचित्र प्रस्तुत गरी लागूऔषधविरुद्ध सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागू औषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरुद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लालाई लागू औषधमुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ पूर्वको विराटनगरबाट सुरुवात गरेको महाअभियान लागूऔषध विरुद्ध सक्रिय हुँदै देशव्यापी रूपमा अघि बढ्न सफल हुने बताए। उनले समाजलाई अन्धकार तर्फ धकेल्दै आएको लागू औषधको जालोलाई तोड्न शुभारम्भ गरिएको अभियानले नेपाली समाजका ऊर्जावान् युवाहरूलाई सक्रियताका साथ अभियानमा लागी परेको देख्न पाइने अपेक्षा राखे।
क्षणिक रमाइलोको लागी लागू औषधको कुलतमा फसेका युवाहरूलाई यस्ता प्रकारका अभियानहरूको सुरुवातले अनिवार्य उत्प्रेरणा मिल्ने बताए। उनले लागू औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने बताए।






About Us
प्रतिक्रिया