घर–जग्गा कारोबारमा आएको मन्दीले बैंकहरुलाई धितो बिक्रीमा समस्या

घर–जग्गा कारोबारमा आएको मन्दीले बैंकहरुलाई धितो बिक्रीमा समस्या


काठमाडौं – केही समययता बैंकहरुलाई लिलाम गरेको धितो बिक्रीमा समस्या सिर्जना हुन थालेको छ। बैंकहरुबाट कर्जा लिएपछि कर्जाको साँवा र ब्याज तिर्न नसकेका ऋणीहरुबाट लिएको धितो बैंकहरुले लिलामी गर्दै आएका छन्। पछिल्लो चरणमा देशमा छाएको आर्थिक मन्दीको कारण पनि ऋणीहरुले कर्जाको साँवा ब्याज चुक्ता गर्न नसकेका हुन्।

बैंकहरुले कर्जा चुक्ताको समय नाघेपछि कर्जाको साँवा र ब्याज भुक्तानी गर्नको लागि सुरुमा ७ दिने, १५ दिने र ३५ दिने सूचना जारी गरेका हुन्छन्। बैंकले ३ पटक सूचना जारी गरिसक्दा पनि कर्जाको भुक्तानी नआएपछि ऋणीले बैंकमा राखेको धितोको लिलामी प्रक्रिया अघि बढ्दछ ।

हाल देशको अर्थतन्त्र चलायमान नहुँदा घर–जग्गाको कारोबार बढ्न सकेको छैन साथै व्यवसायीको मनोबल घटेको कारण खरिदकर्ताहरु नहुदाँ बैंकहरुलाई आफ्नो धितो बिक्री गर्न समस्या सिर्जना भएको छ। हिजो आज बैंकहरुले ऋणीहरुबाट धितो लिलाम गरेपछि सो धितोलाई बिक्रीमा राखे तापनि बिक्री हुनभने नसक्ने गरेको बैंकरहरु बताउँछन्।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पछिल्लो समय घर जग्गाको कारोबारमा गिरावट आएसँगै बैंकलाई धितो बिक्रीमा समस्या सिर्जना भएको बताउँछन् । बैंकले धितोहरु लिलाम गरेपछि बिक्री नहुँदासम्म आफ्नै नाममा सकारेर राख्नुपर्ने हुँदा नगद प्रवाहमा प्रभाव पर्ने उनले बताए । ‘धितो बिक्री नहुँदासम्म त बैंकले आफ्नै नाममा राख्नुपर्ने भयो ।’ उनी भन्छन्, ‘धितो बिक्री गरेर अर्को ऋणीलाई लगानी गर्नुपर्ने ठाउँमा पैसा त्यहिँ फसेर बस्ने भयो नि।’

बैंकहरु भनेको सर्वसाधरणको निक्षेप राख्ने संस्थाहरु हुन्। धितो बिक्रीमा समस्या सिर्जना हुँदा बैंकहरुले विकल्पको रुपमा धितोनै आफुले सकार्नुपर्ने स्थिति आएको बैंकरहरुले बताउँदै आएका छन् । अर्थतन्त्र सुस्त हुँदा कर्जा प्रवाह बढ्न सकेको छैन जसले गर्दा बैंकिङ्ग प्रणालीमा अधिक तरलताको स्थिति रहेको छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे पनि हाल बैंकहरुलाई धितो बिक्रीको समस्या सिर्जना हुनुको प्रमुख कारण घरजग्गा व्यापारमा सुस्तता भएको बताउँछन् । ‘हाल घरजग्गाको कारोबार त्यति चलायमान नभएको कारण बोलकबोलको दरखास्तहरु कम परेको हो।’ उनले भने, ‘पहिले पनि जग्गाको कारोबार कहिले निकै चलायमान हुने तर कहिले ठप्प नै हुने गरेको थियो । अब बिस्तारै ब्याजदर पनि घट्दै छ अब केही सहज पक्कै हुन्छ’। उनका अनुसार अर्थतन्त्रमा समस्या आएसँगै बैंकहरुलाई आफ्नो धितो बिक्रीमा समस्या भएको हो । उनले समय समयमा बैंकहरुले यस्तो समस्यालाई सामना गर्दै आइरहेको बताए ।

यता कर्जा असुली नहुँदा बैंकहरुको खराब कर्जा बढेको छ भने उता बैंकबाट लिएको कर्जा नतिर्दा ऋणीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार फागुनसम्म कर्जा भुक्तानी नगरेका ८८ हजार १४५ व्यक्ति तथा संस्था कालोसूचीमा परिसकेका छन् । जसमध्ये बैंकबाट ८५ हजार ८९४ रहेका छन् भने लघुवित्त संस्थाबाट साउनदेखि यता २ हजार २५१ जना कालोसूचिमा परेका छन् ।

एनएमबी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने बैंकहरुले पहिलेको तुलनामा धितो लिलाम कम गर्दै आएको उल्लेख गरे । उनले घरजग्गा बजार सुस्ताएसँगै बैंकहरुले धितो लिलाम कम गर्दै लगेको बताए । ‘ हाल बैंकहरुले पहिलेको जसरी धितो लिलाम गरेका छैनन् राम्रो ठाउँको सानो सानो धितो छ भने त लिएका छन् ’। उनले भने, ‘यसले गर्दा बैंकको कर्जा असुलीमा समस्या हुन्छ र खराब कर्जा पनि बढ्न पुग्छ ।’ डिसीईओ घिमिरेले बैंकले लिलाम गरेको धितो किन्नेहरु पनि घट्दै गएको बताए । उनका अनुसार घरजग्गा बजारमा देखिएको सुस्तताको प्रत्यक्ष प्रभाव बैंकहरुमा पनि परेको छ ।

त्यस्तै, गत फागुन महिनाको घरजग्गा बिक्रीलाई हेर्ने हो भने पनि कारोबारको अवस्था नाजुक देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ४९ हजार २८७ वटा घरजग्गा किनबेच भएको छ। गत माघको तुलनामा फागुनमा घरजग्गा किनबेचमा कमी आएको छ । सो अवधिमा ३६ हजार ७५१ वटा घरजग्गा रोक्का भएको छ भने २९ हजार १४१ वटा घरजग्गा फुकुवा गरेका छन् । गत माघमा देशभरका मालपोत कार्यालयबाट ५० हजार ९२१ वटा घरजग्गाको किनबेच भएको थियो ।