सानिमा लाईफको आईपीओ भोलि बाँडफाँड हुने 

सानिमा लाईफको आईपीओ भोलि बाँडफाँड हुने 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
हालसम्मकै उच्च आवेदन परेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (साउन ३० गते, शनिबार) हुने भएकाे छ ।

उक्त आईपीओकाे बाँडफाँड भाेलि शनिबार सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडाैँमा हुने भएकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएकाे छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म म्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले याे आईपीओकाे बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ । 

सानिमा लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म कम्पनीले कुल १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।