आइतबारको सेयर कारोबारमा जलविद्युतका लगानीकर्ताले कमाए 

आइतबारको सेयर कारोबारमा जलविद्युतका लगानीकर्ताले कमाए 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतबार १२ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। १ दशमलव २५ अंकले हरियो बनेको बजार ३ हजार ८१ अंकमा पुगेको छ। नेप्सेले गत बुधबार ३ हजार ९४ अंकको उच्च रेकर्ड बनाएको थियो। 

यस दिन बैंकिङ ५, होटल तथा पर्यटन ९१, फाइनान्स ३१, निर्जीवन बीमा १७१, अन्य ३१ र जीवन बीमा समूह २०९ अंकले घटेका छन्। ब्यापार ७०, विकास बैंक १९, जलविद्युत ७९, उत्पादन ३४ र माइक्रोफाइनान्स समूह ६५ अंकले बढेका छन्। 

समूहगत रुपमा सबैभन्दा धेरैले बढेको जलविद्युतका लगानीकर्ता नै कमाउनेमा अगाडि रहे। घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर, कालिका पावर, ग्रीनलाइफ हाइड्रो, युनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप पावरको मूल्य यस दिन १० प्रतिशतले बढेको छ। 

चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ३.८ प्रतिशतले घटेको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको ३.५, प्रभु इन्स्योरेन्सको ३.१, तारागाउँ रिजेन्सीको ३ प्रतिशतले मूल्य घटेको छ। 

कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको युनाइटेड मोदीको ३५ करोडको कारोबार भयो। 

यसैबीच, युनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको आइपिओ बजारमा सूचीकृत भएको छ। युनियन लाइफको २ करोड १५ लाख कित्ता सेयर सूचीकृत भएको छ। 

मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता सेयर सूचीकृत भएको छ। युनियन लाइफ इन्स्योरेन्सको कारोबार संकेत ‘यूएलआई’ दिइएको छ।

यसको सुरुआतको कारोबारका लागि प्रतिकित्ता मूल्य न्यूनतम ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसा दिइएको छ। सोको बीचमा जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। 

कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहको छ। भोलिबाट कम्पनीको कारोबार सुरु हुनेछ। 
नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ। 

त्यस्तै मनकामना स्मार्ट लघुवित्तलाई पहिलो कारोबारका लागि न्यूनतम मूल्य ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्म तोकिएको छ। तोकिएको सो मूल्यको बीचमा भोलिबाट पहिलो कारोबार हुनेछ। कम्पनीलाई कारोबार संकेतका रुपमा ‘एमकेएलबी’ दिइएको छ। 

लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ। ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्।