नेप्से सूचक र खरिदबिक्री रकममा अर्को रेकर्ड : १९ अर्ब ५५ करोडबढीको सेयर कारोबार

नेप्से सूचक र खरिदबिक्री रकममा अर्को रेकर्ड : १९ अर्ब ५५ करोडबढीको सेयर कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
नेप्से सूचक र सेयर कारोबार रकमले आइतबार अर्को नयाँ रेकर्ड कायम गरेको छ । यस दिन १९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो नेपाली पुँजी बजारको अहिलेसम्मकै उच्च खरिदबिक्री रकम हो । यसअघि गत साता जेठ २३ गते अहिलेसम्मकै उच्च १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । खरिदबिक्रीले आइतबार त्यो रेकर्डलाई समेत ब्रेक गर्दै अघि बढेको हो ।

यस्तै, नेप्से सूचकले पनि इन्ट्रा डे कारोबारमा गत साता ३ हजार विन्दु पार गरेर पनि क्लोजिङ सूचकमा उक्त विन्दुमा टिकेको थिएन । क्लोजिङ सूचक यसअघिको उच्च विन्दु २९६०.१५ रहेको छ । आइतबार यसलाई पनि पार गर्दै सूचक २९८३.११ विन्दुमा आइपुगेको हो । यसैगरी, दर्जनौं कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । 
 
विकास बैंक, फाइनान्स, हाइड्रोपावर समूह रफ्तारमा कुद्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । यी समूहहरुको सेयर भाउमा केही समय यता उछाल आइरहेको छ । कतिपय कम्पनीको भाउमा दोब्बर वृद्धि भइसकेको अवस्था छ । यस्तै, आइतबार होटेल तथा पर्यटन समूह पनि चम्किएको छ । तर सेयर बजारमा अधिक हिस्सा ओगट्ने बैंकिङ समूहमा भने कुनै पनि चमक देखिएको छैन ।

केही समययता बिमा र माइक्रोफाइनान्स समूह पनि तुलनात्मक रुपमा सुस्त छन् । सेक्टर घुमाईघुमाई बढाउने प्रवृत्ति जारी छ । सोही कारण कुनै समय केही सेक्टरमा तेजी आउने फेरि अरु बेला अरु नै सेक्टर बढ्ने भएकाले यस्तो भएको हो । यतिबेला तुलनात्मक रुपमा वाणिज्य बैंकहरुको सेयर भाउ भने निकै सस्तो देखिएको छ । 
 
सेयर बजार समग्रमा बुल रनमा रहेको छ । बुलिस ट्रेन्ड भएकाले अहिले भाउ नबढेका समूहहरुमा पनि क्रमशः तेजी आउने विश्वास गर्न सकिन्छ । यसर्थ, लगानीकर्ताहरुमा धैर्यता आवश्यक देखिन्छ । लगानीकर्ताले आत्तिने भन्दा पनि धैर्यतापूर्वक हेर्ने, अध्ययन गर्नेतर्फ ख्याल गर्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गरेपछि दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । 
 
लगानी गरिएका कम्पनीहरुको समग्र वित्तीय अवस्था, लाभांश क्षमता, भविष्यमा व्यवसाय विस्तारको सम्भावना, सञ्चालक तथा व्यवस्थापन समूहमा पनि ख्याल गर्नुपर्ने हुन्छ । साथमा, जोखिम लिन सक्ने क्षमता, आफूले होल्डिङ गर्न चाहेको अवधिमा पनि ध्यान दिन आवश्यक हुने विश्लेषकहरु बताउँछन् । बैंकमा रहेको सहज तरलता, सस्तो ब्याजदर, लगानीका अन्य क्षेत्रमा संकुचन लगायत पनि सेयर बजारमा अझ बढी आकर्षण बढाउने काम गरेको हो ।
 
 सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण औसतमा निकै आकर्षक आएको छ । यी समग्र परिदृश्यहरुमा सेयर बजारको आगामी दिनहरु सुनौलो रहेन विश्लेषणहरु भइरहेका छन् । तर यसको अर्थ, बजार सधैं बढ्छ भन्ने होइन । तलमाथि गर्दै माथिल्लो विन्दुतर्फ अग्रसर हुने हो । लगानीकर्ताले अल्पकाल, मध्यकाल वा दीर्घकालीन कुन र कति अवधिकालाई सेयर होल्ड गर्ने भन्ने पूर्वयोजना बनाउन जरुरी हुन्छ । 
 
आइतबार कुल २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७२ करोड २९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर सबैभन्दा अघि छ । यसैगरी, दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा नेसनल हाइड्रोपावर परेका छन् । ४४ कम्पनीको भाउ ९% भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।