शुल्क लिएर ब्रोकरलाई आफ्नै टिएमएस चलाउन दिने नेप्सेको तयारी, धितोपत्र बोर्डमा पठायो प्रस्ताव

शुल्क लिएर ब्रोकरलाई आफ्नै टिएमएस चलाउन दिने नेप्सेको तयारी, धितोपत्र बोर्डमा पठायो प्रस्ताव

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
ब्रोकरले आफ्नै टिएमएस जडान गर्न सक्ने गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले विनियमावली संशोधन प्रस्ताव गरेको छ । नेप्सेले धितोपत्र कारोबार संचालन बिनियमावली संशोधन गरि स्वीकृतिको लागि नेपाल धितोपत्र  बोर्डमा पठाएको हो ।

नेप्सेले यस अघि सूचना प्रविधि कार्यविधि बनाएर ब्रोकरहरुले आफ्नै टिएमएस संचालन गर्न सक्ने ब्यबस्था सहितको प्रस्ताव स्वीकृतिको लागि बोर्डमा पठाएको थियो । कार्यविधिमा टिएमएस प्रयोग गरे वापत नेप्सेलाई तिर्नु पर्ने शुल्क समेत उल्लेख गरिएको थियो । तर बोर्डले शुल्कको विषय कार्यविधिमा राख्न नमिल्ने भन्दै नियमावलीमा राख्नु पर्ने भन्दै उक्त प्रस्ताव फिर्ता पठाईदिएको थियो । बोर्डबाट प्रस्ताव फिर्ता आएपछि नेप्सेले विनियमावली संशोधन गरेर बोर्डमा पठाएको हो । 

बोर्डमा स्वीकृतिको लागि पठाईएको विनियमावलीमा कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) प्रयोग सम्बन्धि ब्यबस्था छ । त्यसमा मुख्यत: २ वटा विषय समेटिएको बताईएको छ । पहिलो, अहिले भईरहेको टिएमएस ब्रोकरले भाडामा चलाउंदा त्यसको प्रयोग समबन्धि ब्यबस्था र दोस्रो, ब्रोकर आफैले टिएमएस निर्माण गरे वा खरिद गरेर ल्याएर त्यसको प्रयोग समबन्धि ब्यबस्था समेटिएको छ ।

हाल सबै ब्रोकरले नेप्सेले नै तयार पारेको टिएमएस चलाउदै आएका छन् । नेप्से कै टिएमएस चलाउंदा टिएमएसमा केहि समस्या आए नेप्सेलाई दोष आउने गरेको छ । तर नेप्से भने आफ्नो कारणले नभई धेरै समस्या सर्भरको कारणले आउने गरेको दाबी गर्छ । टिएमएस नेप्सेको भएपनि सर्भर ब्रोकर कै भएकोले सर्भरको कारण ढिलो खुल्ने, नखुल्ने जस्ता समस्या आउने र ब्रोकरको सर्भरको कारण देखिएका समस्या आफुले समधान गर्न नसक्ने नेप्सेले बताउदै आएको छ । विनियमावली स्वीकृत भएर लागु भएपछि आफुलाई दोष नआउने नेप्सेको दाबी छ ।

विनियमावलीमा शुल्क लिने ब्यबस्था पनि उल्लेख गरिएको छ । ब्रोकरले नेप्सेको टिएमएस चलाउंदा त्यसवापत शुल्क लिने प्रस्ताव गरिएको छ । त्यस्तै यदि कोहि ब्रोकरले आफ्नै टिएमएस बनाउने चाहेमा वा टिएमएस खरिद गरेर ल्याएमा त्यसलाई नेप्सेको सिस्टममा जोड्नको लागि शुल्क लिने प्रस्ताव गरिएको छ। ब्रोकर आफैले टिमएस निर्माण गर्ने भए वा खरिद गरेर ल्याउने भए त्यसको मापदण्डको ब्यबस्था पनि उल्लेख गरिएको छ ।

जस अनुसार नेप्से कै टिएमएस चलाउने भए ब्रोकरले मर्मत सम्भार शुल्क मासिक ४० हजार र जडान प्राविधिक सेवा शुल्क मासिक १५ हजार गरि कुल ५५ हजार तिर्नु पर्ने प्रस्ताव गरिएको छ । ब्रोकरले आफ्नै टिएमएस बनाउने चाहेमा वा टिएमएस खरिद गरेर ल्याएमा त्यसलाई नेप्सेको सिस्टममा जोड्नको लागि वार्षिक रुपमा ७५ हजार शुल्क लिने प्रस्ताव गरिएको छ । 

हाल ब्रोकरहरुले अन्तराष्ट्रिय स्तरको टिएमएस निर्माण गरिरहेको र सबै पक्षको सहयोग भएमा साउन १ गतेदेखि नै लागु गर्ने बताईरहेका छन् । त्यस्तै नेपाल धितोपत्र बोर्डले पनि ब्रोकरको आफ्नै टिएमएस हुनु पर्ने बताउदै आएको छ । बोर्डको २९ औ वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आगामी साउन वा भदौदेखि ब्रोकर कै टिमएसबाट कारोबार हुने अपेक्षा गरिएको उल्लेख गरेका थिए ।