शेयर बजारमा एकपछि अर्को रेकर्ड, एकैदिन १३ अर्बको कारोबार

शेयर बजारमा एकपछि अर्को रेकर्ड, एकैदिन १३ अर्बको कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
शेयर बजारमा जेठ १० गते सोमबार हालसम्मकै धेरै रकमको शेयर कारोबार भएको छ । यसअघि जेठ ५ गते ११ अर्ब ९५ करोडको शेयर कारोबार भई नयाँ रेकर्ड बनेकोमा सोमबार उक्त रेकर्ड समेत तोडिएर सवा १३ अर्बको नयाँ रेकर्ड बनेको हो ।

कारोबार रकमको रेकर्ड एक हप्तामै नयाँ कायम भएको हो । कोरोना संक्रमणको दोस्रो लहरका कारण लगानीका अन्य क्षेत्र संकुचन हुँदा ठूला कारोबारी र  बैंक तथा वित्तीय संस्थाको समेत संस्थागत लगानीकर्ताको लगानी शेयर बजारमा ओइरिन थालेपछि शेयर बजारमा गुल्जार आएको हो । जसले सोमबार कारोबार रकम र सूचकमा नयाँ रेकर्ड बनेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार एकैदिन १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँको शेयर कारोबारमा आएको छ । यसदिन २१६ कम्पनीका २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर १ लाख ३६ हजार ४९९ पटक खरीद बिक्री भए । आज कारोबार भएको शेयर संख्या र कित्ता पनि हालसम्मकै धेरै हो ।

यसैगरी नेप्से सूचक पनि ३.०६ अंकले बढ्दै २८२३.०६ अंकमा पुगेको छ । आइतबार मात्रै २८२० अंकमा नया्ँ रेकर्ड कायम भएको थियो ।
कारोबारमा आएका १३ मध्ये ५ वटा समुहको सूचक मात्र सकारात्मक रहेको छ भने ७ वटा ऋणात्मक रहेका छन् । निर्जीवन बीमाको सर्वाधिक १.३९ प्रतिशतले बढेको बजारमा लगानी सूचक पनि १.३७ प्रतिशतले बढ्दा बैंकिङ्ग, जलविद्युत र म्युचुअल फण्ड सामान्य सकारात्मक रहे ।

वित्तको सूचकमा सर्वाधिक २.२० प्रतिशतको गिरावट आएको छ भने ब्यापार सूचक १.३७ प्रतिशतले घटेको छ । बाँकी सामान्य घटेका छन् ।

एचआईडिसिएलको हकप्रदले बढायो कारोबार

आइतबार नेपाल धितोपत्र बोर्डबाट एक बराबर एक अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएसँगै सोमबार एचआईडिसिएलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ लाख ९ हजार ९०७ कित्ता शेयर १ अर्ब २६ करोड १९ लाख ६७० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यसैगरी नेको इन्स्योरेन्सको ३७ करोड ३३ लाख, पुनर्बीमा कम्पनी २८ करोड २१ लाख, आइएमई जनरल इन्स्योरेन्स २५ करोड ७० लाख, र सूर्या लाइफको २४ करोड ८१ लाखको शेयर खरीद बिक्री भएको छ ।

यसैगरी सिभिल बैंकको २४ करोड १४ लाख, कुमारी बैंकको २१ करोड ९८ लाख, ज्योति विकास बैंक २० करोड ९८ लाख, नेपाल बंगलादेश बैंक २० करोड ८६ लाख र अरुण काबेली पावरको २० करोड ७७ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ ।

चार कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढ्दा तीनको करिब ५% घट्यो

यसदिनको बजारमा बरुण हाइड्रोपावर, युनाइटेड इदिमार्दी, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंक गरी चार कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ भने तीन कम्पनीहरु एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनानस र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आयो ।

एचआईडिसिएल, अरुण भ्याली, आईएमई जनरल इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्सको पनि साढे ४ प्रतिशतले बढेको छ । उता मिथिला लघुवित्त, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, मल्टिपर्पस फाइनानस र मितेरी डेभलपमेन्ट बैंकको शेयरमा लगानी गरेका लगानीकताले पनि सोमबारको बजारबाट साढे ३ प्रतिशत बढीले गुमाएका छन् ।