फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : मन्त्री भुसाल

फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : मन्त्री भुसाल


चितवन – कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।

चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए ।

‘अहिलेको नेपालमा दूध बढी उत्पादन गर्ने समय हो । दूध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्न सक्छौँ। अहिले खपत हुन नसकेको दूध पाउडर वा बटर बनाएर राखौँ । फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन’, मन्त्री भुसालले भने । उनले भण्डारण भएर रहेको पाउडर दूध बिक्री भएपछि किसानको बाँकी भुक्तानी प्रदान गरिने बताए ।

‘फागुन लागेपछि भण्डारण भएको दूध बिक्री हुन्छ। त्यसपछि किसानले रकम पाउनुहुन्छ’,मन्त्री भुसालले भने,‘अहिले पनि केही रकम त पाइरहनुभएको छ। बाँकी फागुनभित्रमा पाउनुहुन्छ।’

चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन् । भण्डार भएको दूध बिक्री नभएपछि चिवतन मिल्क उद्योग बन्द भएको छ । (रासस)