अरुको घट्दा युनिक नेपाल लघुवित्तको नाफा कसरी बढ्यो ?

अरुको घट्दा युनिक नेपाल लघुवित्तको नाफा कसरी बढ्यो ?


काठमाडौं- युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ३२ लाख २६ हजार रुपैयाँ नाफा कमायो । जुन गत आर्थिक वर्षको तुलनामा ११८.८२ प्रतिशत बढि हो । यो सँगै सबैको ध्यान युनिक नेपाल लघुवित्त तर्फ गएको देखिन्छ । यसरी कि अहिले अधिकांश लघुवित्तको नाफामा गिरावट आउँदा युनिक नेपालको नाफा अत्यधिक बढेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा संस्थाले १ करोड ५१ लाख ८४ हजार रुपैयाँमा मात्रै आम्दानी गरेको थियो ।

कसरी बढ्यो नाफा ?

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. गोपाल दहित एनएफआरएस प्रणालीबाट हिसाब राखेको हुनाले नाफा बढेको देखिएको उनी बताउँछन् । एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस्) प्रणालीमा तयार गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको थियो ।

यसअघि, लघुवित्तहरूले नेपाल लेखा मापदण्ड (एनएएस) अनुसार वित्तीय विवरण बनाउनुपर्ने व्यवस्था थियो । नेपाल चार्टर एकान्उन्टेन्स एसोसिएसन र नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरूको लागि यो आर्थिक वर्षबाट एनएफआरएस प्रणाली ल्याएको हो ।

पहिलो पटक यो प्रणाली प्रयोग गरेको कारण नै नाफा बढेको सीईओ दहितले जानकारी दिए । अब अर्को त्रैमासमा भने यो लेभलको नाफा नदेखिने उनको भनाई छ । नाफा बढेपनि संस्थाको खराब कर्जा भने बढिरहेको छ । अघिल्लो आर्थिक वर्षमा ७.३७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.९२ प्रतिशत पुगेको छ ।