मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन

मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन


काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् । बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्ध वार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भुसालले लामो समयदेखि डम्पिङ साइटमा थन्किएका मोबाइल ल्याब भ्यानलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो । झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान प्रयोगविहीन अवस्थामा छन् । खाद्य प्रविधि विभागमा ती भ्यान अलपत्र परेका छन् ।