काठमाडौं – कृषि क्षेत्रमा प्रविधि भित्र्याउने उद्देश्यले गरिएको छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला समापन भएको छ । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रूपमा गत शुक्रबारदेखि आईतबार (आज) सम्म काठमाडौंको भृकुटीमण्डपमा गरेको छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला सकिएको हो ।
मेलामा किसानलाई आवश्यक प्रविधिमात्रै नभई उत्पादनदेखि बजारीकरणसम्मका विषयबारे जानकारी गराइएको थियो । मेलामा नेपाल, भारत, चीन, जर्मनी, टर्की र जापानका कम्पनीले भाग लिएका थिए । नेपालको पहाडी भूभागका लागि उपयुक्त हुने जापानी प्रविधिको मोनोरेलदेखि अन्य कृषि प्रविधिहरुको प्रदर्शनी गरिएको थियो ।
मेलाका संयोजक सिर्जल भट्टराईले विगतका मेलाहरु भन्दा छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेला राम्रो भएको बताए । उनले मेलामा सहभागितामा देखिएको उत्साह,किसानहरुको मेला अवलोकन र सेमिनारहरुमा उठेको जिज्ञासाका आधारमा आयोजकले सोचेको भन्दा उत्कृष्ट रहेको पनि बताए । उनले २५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा भए पनि करिव २८ हजार किसानले मेलाको अवलोकन गरेको बताए । संयोजक भट्टराईले नेपालको कृषि क्षेत्रको सुधार गरी उत्पादकत्व बढाउनको लागि कृषि प्रविधि भित्र्याउन राज्य संयन्त्र नै लाग्नुपर्ने सन्देश मेलाले दिएको भनाइ राखे ।
छैटौं नेपाल एग्रोटेकमा सहभागी कोल्ड स्टोर उद्योग नेपकुल इन्ड्रष्ट्रिज प्रा.लि. सञ्चालक फेकन महतोले कृषिलाई सुधार गर्न नेपालमा बनेका कृषि प्रविधिको बारेमा जानकारी दिन जरुरी रहेको भनाइ राखे। उनले त्यसको लागि छैटौं नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय मेलामा सहभागि भएकाे बताए ।
मेलामा प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादीरहित कृषि आदिका बारेमा जानकारी समेत दिइएको थियो । मेलामा देशभरबाट उद्यमी,अनुसन्धानकर्ता, विद्यार्थी, किसानहरुले अवलोकन गरेका थिए । (न्युज एजेन्सी नेपाल)






About Us
प्रतिक्रिया