हिमपहिरोमा परी सम्पर्कविहीन थप दुई जनाको शव फेला, मृतकको संख्या चार पुग्यो


काठमाडौं- मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापनाका लागि २२ जना नेपाली नागरिक उक्त क्षेत्रमा गएका थिए। तीमध्ये १० जना असोज १ गते सकुशल फु गाउँमा आइपुगेका थिए भने बाँकी १२ जना सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीनमध्ये यसअघि दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको थियो। ती शवलाई असोज १२ गते कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको थियो। शिक्षण अस्पताल पठाइएका शवको पहिचान संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला गाउँपालिका–२ का करिब ३१ वर्षीय पासाङ भोटेको रूपमा भएको छ।

यसैबीच, असोज १२ गते बिहान करिब ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामेमा ल्याइएको छ। उद्धार गरिएका दुवै शवको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन। हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दुर्गम क्षेत्रमा रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।