आयल निगम निरन्तर नाफामा, जनताले तिर्ने करमा उस्तै लुट

आयल निगम निरन्तर नाफामा, जनताले तिर्ने करमा उस्तै लुट


काठमाडौं– नेपाल आयल निगम पछिल्लो डेढ वर्षदेखि निरन्तर नाफामा छ। उच्च मुनाफामा रहे पनि उपभोक्तले भने पेट्रोलियम पदार्थमा सहुलियत पाउन सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थकाे मूल्यमा गिरावट आएपछि स्वभाविक रूपमा मूल्यमा भने केही कमी आएको छ ।

इण्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो १५ को मूल्यसूचीअनुसार अहिले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य केही घटाइएको छ । जसअनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय ६७ र डिजेल र मट्टीतेल प्रतिलिटर एक सय ५७ रूपैयाँमा बिक्री भइरहेको छ ।

अर्थतन्त्र संकटमा, निगम उच्च नाफामा !
पछिल्ला दुई वर्ष नेपाली अर्थतन्त्र निकै संकटबाट गुज्रियो । तर, निगमले भने उच्च मुनाफा कमायो । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म निगम २ अर्ब १६ करोड रूपैयाँले घाटामा थियो ।

त्यसपछि निगमले निरन्तर नाफा कमाइरहेको छ । तथ्यांकअनुसार गत वर्षको भदौ पहिलो साता मूल्यका आधारमा गरेको पाक्षिक अनुमानित नाफा/नोक्सान हेर्दा २ अर्ब १६ करोड नोक्सान हुने प्रक्षेपण निगमको थियो । त्यसपछि भएको नाफाले इण्डियल आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता र ऋण तिरिसकेको छ ।

यसअघि २०७८ को सुरुबाटै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेअनुसार नेपालमा तेलको भाउ समायोजन नगर्दा घाटा बेहाेर्नुपरेको निगमले बताएको थियो । निगमले त्यतिबेला मासिक अर्बौं घाटा भइरहेको तथ्यांक निकालेको थियो । २०७९ सालको सुरुवातबाटै न्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा विस्तारै गिरावट आए नेपाली बजारमा तेलको मूल्य भने घटाइएन ।

सोही कारण घाटामा रहेको निगमले निरन्तर नाफा कमाइरहेको छ । नेपाली अर्थ बजारमा उच्च संकट रहेको, नेपालीहरूको क्रयशक्ति कमजोर भएका बेला सरकार मातहतको कम्पनीले उच्च नाफा कमाउनु राम्रो नभएको विज्ञहरू बताउँछन् ।

पभोक्ता अधिकार कर्मी ज्योति बानियाँ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको क्रयशक्ति यति धेरै कमजोर भएको छ । सरकार मातहतको निगमले घाटा भएकाले अन्त जे भए पनि म मूल्य घटाउँदिन भन्नु निकै आपत्तिजनक छ । यो नाफामा खुशी हुने केही कारण छैन । ’

नाफाको मात्रै हिसाब !
गत वर्षको भदौ महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रो तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । सन् २००८ पछि स्थिरप्राय रहेको कच्चा तेलको मूल्य रुस र युक्रेनको युद्धका कारण प्रतिब्यारेल १ सय ४० डलर पुगेपछि इन्डियल आयल निगम (आईओसी)ले पनि नेपाललाई पेट्रोलियम पदार्थको मूल्य सूची बढाएर पठायो । त्यसपछि नेपाली बजारमा निरन्तर मूल्य वृद्धि भइरह्यो । त्यतिबेला नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय रूपैयाँ वरिपरी थियो ।

तर, नेपाल सरकारले मूल्य समायोजन गर्न नदिदा उच्च घाटामा रहेको निगमले बताएको थियो । त्यसपछि सरकारको अनुमति लिएर मूल्य समायोजन गरेको निगमले पछाडि नफर्की नाफा कमाइ नै रहेको छ ।

अहिले भने एसियाली बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.२३ डलर छ । कच्चा तेलको मूल्य आएको गिरावट झण्डै ४५ प्रतिशत भए पनि नेपाली उपभोक्ताले पाउने इन्धनको मूल्यमा भने खासै कमी भएको छैन । कच्चा तेलको मूल्य निकै उच्च भएको बेला २ सय रूपैयाँको हाराहारी पुगेको पेट्रोलको मूल्य अहिले १ सय ७० को लाइनमा छ । यसले नोपली बजारमा भने करिब १५ प्रतिशतले मात्रै तेलको मूल्य घटेको देखाउँछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई मूल्य सुची पठाउने गर्छ । सामान्यतया सोही मूल्यअनुसार नेपाल आयल निगमले नेपाली बजारमा पनि मुल्य निर्धारण गर्छ । त्यसपछि पाक्षिक नाफा नोक्सान निकाल्छ ।

पछिल्लो पटक पनि निगमले आइओसीको मूल्यसूची अनुसार नै १५ दिनमा ३७ करोड नाफा हुने प्रक्षेपण गरेको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रो तेलको मुल्यमा गिरावट आए पनि नेपाली बजारमा खासै परिवर्तन नहुँदा उपभोक्ता मारमा परेका छन् । पेट्रोलियम पदार्थको उच्च मूल्यले दैनिक सवारी चलाउने त प्रत्यक्ष मर्कामा परेकै छन् । दैनिक उपभोग्य वस्तु तथा सेवा पनि अत्यन्तै महंगो छ । बस्तु तथा सेवाको बढ्दो मूल्य र खस्कदो गुणस्तरले नेपाली बजारमा सृंक्फ्लेसन समस्या देखा परिसकेको विज्ञहरू बताउँछन् ।

सरकारी लुट !
नेपाली बजारमा पेट्रोलियम पदार्थको आयात र बिक्री–वितरण गर्ने नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनसँग मात्रै खरिद गर्ने गर्छ । जसका कारण भारतमा इन्धनको मूल्यवृद्धि हुँदा स्वतः नेपालमा पनि बढ्छ ।

खरिद र बिक्री हिसाब गरी घाटा नाफा निकाल्ने ब्यापारिक निगमले सामान्य हिसाबमा भारतबाट खरिद गर्दाको लागत मूल्यमा नाफा राखेर बेच्नु स्वभाविक हो । तर, निगमको खरिद लागतभन्दा झण्डै दोब्बर बढी तिर्नुपर्ने नेपाली उपभोक्ताको बाध्यता उदेक लाग्दो छ ।

ब्यापारिक निगमले नाफा घाटाको हिसाब गर्नुपर्नेमा पेट्रोलियमा पदार्थम नेपाल सरकारले पनि जनतामाथि अत्यधिक लुट्ने काम गरेको छ भन्दा फरक पर्दैछ । अहिलेको तथ्यांक हेर्दा निगमले भारतबाट खरिद गरेकोे मूल्यमा पनि आफ्नो कमिसन राखेर बिक्रेता कम्पनीहरूले उपभोक्तालाई बेच्छन । त्यसमाथि निकै चर्को राजश्व उपभोक्ताले सरकारलाई तिर्नुपर्ने हुन्छ ।

पछिल्लो पटक मंसिर ३० गते आइओसीले नेपाललाई पठाएको मूल्यसूचीअनुसार पेट्रोलको प्रतिलिटर खरिद मूल्य ८७.०३ रूपैयाँ छ भने उपभोक्ताले पाउने मूल्य १६७ रूपैयाँ छ । तर, यसमा जम्मा ४.६ रूपैयाँ मात्रै नाफा देखाएको छ ।

यो तथ्यांकले नेपाल आयल निगमले पेट्रोलको खरिद मूल्यमा झण्डै ३० प्रतिशत थप कर लगाएको देखिन्छ । निगमले पेट्रोल प्रतिलिटर खरिद मूल्यमा ६१ रुपैयाँ ६१ पैसा सरकारी राजश्व, १ रूपैयाँ ७९ पैसा निगमको विभिन्न खर्च, ५ रुपैयाँ ९९ पैसा ढुवानी भाडा र नेपाली बिक्रेता कम्पनीहरूको नाफा ६ रुपैयाँ राखिएको छ । यसरी पेट्रोलको मूल्यमा सबै अतिरिक्त शुल्क जोड्दा १६२ रूपैयाँ ४० पैसा लागत मूल्य पुगेको छ ।

यस्तै डिजेल पनि भारतको रक्सौलबाट निगमले ९४.९४ रुपैयाँमा खरीद गरेर नेपाली बजारमा १५७ रुपैयाँमा बिक्री गर्दाको नाफा ७ रुपैयाँ ८७ पैसा देखाएको छ ।

घाटाको हवाला दिँदै राजस्व असुल्दै !
सरकारले इन्धनलाई राजश्वको ठूलो स्रोतका रूपमा वर्षौदेखि राख्दै आएको छ । निगम उच्च घाटामा रहँदा पनि अर्बौं राजश्व असुल्ने सरकारले जनताको मूल्यमा सहुलियत दिने उदारता भने कहिल्यै देखाएन ।

इन्धनको खरिद मूल्यमा भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धिकर लगायतको रकम उपभोक्ताबाट लिएर निगमले सरकारलाई तिर्ने गरेको छ ।

तथ्यांकअनुसार निगम घाटामा होस या नाफामा सरकारले लिने राजस्व लागतको २० देखि ३० प्रतिशत हुने गरेको छ । निगमले पछिल्ला केही आर्थिक वर्षयता पूर्वाधार कर पनि जनतालाई तिराउने गरेको छ । तर, सम्बन्धित आयोजना भने अलपत्र नै छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०६५/०६६ मा विभिन्न करबापत सरकारलाई नौ अर्ब ५२ करोड रुपैयाँ तिरेको थियो । सोही वर्ष निगमलाई तीन अर्ब ३१ करोड रुपैयाँ नाफा भएको छ ।

त्यसपछि २०६६/०६७ देखि २०७१/०७२ सम्म निरन्तर घाटामा रहेको निगमले वर्षेनी अर्बौं राजस्व भने तिरिरहेको तथ्यांकले देखाउँछ ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ देखि पूर्वाधार कर पनि इन्धनमा लगाउन थालेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपाल आयल निगम संस्थानहरूमा सबैभन्दा बढी नाफामा कमाउने संस्था बन्यो । सो आर्थिक वर्षमा निगमले १८ अर्ब रूपैयाँ नाफा कमायो । चालू आर्थिक वर्षका पाँचवटै महिनामा पनि निगमको नाफा देखिएको छ । यसरी उच्च नाफा कमाएकै समयमा पनि जनताले पेट्रोलियम पदार्थमा सबैभन्दा चर्को मूल्यवृद्धि खेप्नुपर्याे ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ सरकारले जनताको रगत पसिना चुसिरहेको बताउँछन् । उनी भन्छन्, ‘इन्धन घाटामा होस् या नाफामा जनतालाई कुनै राहत छैन । सरकारले निरन्तर उच्च कर जनताबाट असुल गरिरहेको छ । यो लुट हो, ठगी हो !’

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्व अर्यालले पनि सरकारले जनता ठगिरहेको आफू मूकदर्शक बन्न बाध्य भएको बताए । उनले भने, ‘निगम त सरकारी संस्था हो । घाटा होस् नाफा जनताका विषयमा सोच्नु सरकारको दायित्व हो । त्यसका काराण करमा छुट दिनैपर्छ । अर्कोतिर अहिले ग्यासमा घाटा देखाएर पेट्रोलको नापामा मिलाइरहेको छ । यसमा पनि हेरफेर गर्नुपर्नेछ ।’