बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा माग बमोजिम आवेदन परेपछि फागुन ५ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा आज फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ३० हजार कित्ता र बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
यो ऋणपत्र खरीदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया