ग्रामीण क्षेत्र लक्षित नबिल बैंकको नयाँ शाखा बाग्लुङ्गको हटिया बजारमा विस्तार

ग्रामीण क्षेत्र लक्षित नबिल बैंकको नयाँ शाखा बाग्लुङ्गको हटिया बजारमा विस्तार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा बाग्लुङ्ग जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा आफ्नो सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

जिल्लाको गलकोट नगरपालिका वडा नं. ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी दिए । बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २ सय ४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए ।

देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै अत्यावश्यक वित्तिय सेवा नागरिकलाई प्रत्याभुत गराउँदै आएको नबिल बैंकले बागलुङ सदरमुकाम बाहिर जिल्लामा दोस्रो शाखा सञ्चालन गरेको नबिल बैंक गलकोट शाखाका प्रवन्धक सुन्दर सापकोटाले जानकारी दिए ।

यस शाखा मार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण डिजिटल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायी र आम सर्वसाधारण नागरिक माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

बैंकले आफ्नो सेवा थप सुदृढ अनि व्यापक बनाउने प्रतिवद्धता गरेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका ठाउँमा आक्रामक रुपमा आफनो शाखा विस्तार गर्दै आईरहेको छ ।

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ । नबिल बैंकको हाल देशभर २ सय ४७ शाखा, १७ एक्सटेन्सन काउन्टर र २ सय ७६ वटा एटिएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।