बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग गर्दा महिनाको २ वटा कारोबार निशुल्क हुने व्यवस्था हटाएको छ । यो सँगै अब आफुले प्रयोग गरिरहेको बैंकको एटीएम भन्दा फरक बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्नेछ । मंगलबार नेपाल राष्ट्र बैंकले यो व्यवस्था हटाउँदै बैंकका सेवाग्राहीहरुले पाउँदै आएको सुविधामा कैची लगाइदिएको हो ।
नेपाल राष्ट्र बैंकले कोभिडको बेलामा दिएको अन्तर बैंक एटीएम प्रयोग गर्दा २ वटा कारोबारसम्म शुल्क नलाग्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम प्रयोग गर्दा २ पटकसम्म शुल्क नलाग्ने व्यवस्था हटाएपछि बैंकका सेवाग्राहीहरु मारमा परेका छन । त्यसो त बैंकहरुले अन्तर बैंक एटीएम प्रयोग गर्दा प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिने गरेकोमा अब १५ रुपैयाँ मात्रै लाग्ने व्यवस्था गरेको छ । ग्राहकले २ वटा कारोबार निःशुल्क पाउने व्यवस्था हटाएर ग्राहकले पाएको सेवा कटौती गर्दै बैंकहरुलाई आम्दानी बढाउन अझ सहजता प्रोत्सान गरेको विभिन्न प्रयोगकर्ताहरुले आरोप लगाइरहेका छन ।
नेपाल राष्ट्र बैंकले भने कार्डबाट पैसा निकाल्नु डिजिटल बैंकिङ नभएको र अन्तर बैंक एटीएम प्रयोग गर्दा हरेक कारोबारमा कार्डको स्विच सञ्चालन गर्नेलाई विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने हुँदा यसले विदेशी मुद्राको समेत खर्च बढाएको बताउँछ । ‘बैंकले एटीएम कार्ड जारी गर्ने मात्रै हो । उक्त कार्ड भिसा, मास्टर लगायत अन्तर्राष्ट्रिय स्विचमार्फत सञ्चालन भइरहेको हुन्छ, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा कार्ड सञ्चालन गर्ने स्विचलाई रकम भुक्तानी गर्नुपर्छ, यस्तो खर्च बढ्न भएकाले पनि निर्णय लिएका हौं ।’
यता सर्वसाधारणले भएको सुविधा पनि कटौती भएको गुनासो गरिरहेका छन ।
प्रतिक्रिया