काठमाडौं – अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरेको छ। पुरस्कार समितिका अध्यक्ष जोन हस्लरले उहाँहरुको अनुसन्धानले ऊर्जा सङ्कट वा घरपरिवारको उपभोगमा आउने आकस्मिक परिवर्तनजस्ता आर्थिक झट्काको सामना गर्न नीतिनिर्मातालाई थप सक्षम बनाएको बताए।
सन् १९७० को दशकमा देखिएको तेल सङ्कटका क्रममा मन्दी तथा अन्य आर्थिक उतारचढावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडेल प्रभावकारी हुन नसकेको देखिएको थियो। त्यसपछि हल र उडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पुर्याएका थिए।
एकेडेमीका अनुसार, उनीहरूले मुद्रास्फीति, उत्पादन र उपभोगजस्ता समष्टिगत आर्थिक सूचकबिचको तथ्याङ्कीय सम्बन्धमा मात्र निर्भर नभई सूक्ष्म आर्थिक आधारमा मोडेल निर्माण गर्ने दृष्टिकोण अपनाए। यस दृष्टिकोणले व्यक्तिगत घरपरिवार र व्यवसायले गर्ने निर्णय तथा तिनको समग्र प्रभावले अर्थतन्त्रमा कसरी परिवर्तन ल्याउँछ भन्ने बुझ्न सहयोग पुर्याउँछ।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडिश वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १८९५ को इच्छापत्रमा उल्लेख गरिएका पाँच मूल पुरस्कारमध्ये पर्दैन। नोबेलको सन् १८९६ मा निधन भएको थियो । स्वीडिश केन्द्रीय बैंकको सहयोगमा सन् १९६८ मा स्थापना गरिएको यस पुरस्कारलाई औपचारिकरूपमा ‘अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानतर्फको स्वेरिजेस रिक्सबैंक पुरस्कार’ भनिन्छ।
यसको स्थापना नोबेलको मूल इच्छापत्रमा नभएकाले केही आलोचकले यसलाई ‘नक्कली नोबेल’ भन्ने गरेका छन्। यद्यपि, यसको विजेता छनोट रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले नै गर्छ र छनोट प्रक्रिया अन्य नोबेल पुरस्कारको प्रक्रियासँग मिल्दोजुल्दो छ। गत वर्ष प्रविधिले आर्थिक वृद्धिलाई कसरी अघि बढाउँछ भन्ने विषयमा अनुसन्धान गरेका अमेरिकी-इजरायली अर्थशास्त्री जोएल मोकिर, फ्रान्सेली अर्थशास्त्री फिलिप एगियोन र क्यानडाका पिटर हाउइटलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
अन्य नोबेल पुरस्कारसरह अर्थशास्त्रतर्फको पुरस्कारमा पनि प्रमाणपत्र, स्वर्ण पदक र नगद पुरस्कार समावेश हुन्छ। पुरस्कार विजेताले डिसेम्बर १० मा आयोजना हुने औपचारिक समारोहमा पुरस्कार ग्रहण गर्नेछन्। डिसेम्बर १० अल्फ्रेड नोबेलको निधन भएको दिनको वार्षिकी हो।






About Us
प्रतिक्रिया