सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग र सर्वसाधारणसँग विवाद गरेको आरोपमा सापकोटा पक्राउ


काठमाडौं – सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधनको दुरुपयोग गरी सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पनौती नगरपालिका–३, कुशादेवी निवासी ४० वर्षीय गणेश सापकोटालाई पक्राउ गरिएको हो।

सामाजिक सञ्जालमा प्राप्त भिडियोका आधारमा गरिएको अनुसन्धानमा सापकोटाले असोज २४ गते सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधनको दुरुपयोग गर्दै सार्वजनिक स्थानमा सर्वसाधारणसँग वादविवाद तथा अश्लील शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई २०८३ असोज २५ गते पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद अनुमति प्राप्त गरी उनलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।