बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्यारेन्स एक आपसमा मर्जरमा गएपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको छ ।
मर्जरपछि कायम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले सूर्या लाइफ र ज्योति लाइफको मर्जरपछिको पहिलो कारोबारका लागि रू. ३७१ दशमलव ५९ मूल्य रेञ्ज तोकेको छ ।
साबिकको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई खारेज गरी कम्पनीको १ करोड ९९ लाख ५२ हजार ९०० कित्ता शेयर साबिकको सूर्या लायफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम परिवर्तन गरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर नेप्सेमा देखिनेछ । कम्पनीको स्टक सिम्बोल एसजेएलआईसी (SJLIC) रहेको छ ।
सीडीएससीले मर्जरपछि कायम शेयर स्वाप रेसियोका आधारमा सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा शेयर जम्मा हुने व्यवस्था मिलाइसकेको छ । नेप्सेले एकीकृत कारोबारका दिनदेखि रोक्का रहेको दुवै कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय पनि गरिसकेको छ ।
यी दुई कम्पनी १ बराबर शून्य दशमलव ८२ अनुपातमा मर्जरमा गएका हुन् । मर्जर पश्चात सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार सुरू भएको थियो ।
प्रतिक्रिया