एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित, खुद नाफा ३६% ले बढ्यो

एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित, खुद नाफा ३६% ले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएको छ । 

यस बैंकले आ.व. २०७९/८० को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २६६.६८ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ रू. ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) २४.७५ प्रतिशत रहेको छ । साथै, यस बैंकको वार्षिक प्रति शेयर आम्दानी (इपीएस) रू. ५६.७७ रहेको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० को दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।