दोस्रो त्रैमासमा निफ्राले कमायो करीब ७७ करोड नाफा, ईपीएसमा पनि वृद्धि

दोस्रो त्रैमासमा निफ्राले कमायो करीब ७७ करोड नाफा, ईपीएसमा पनि वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा बढेको छ ।

गत वर्ष ६३ करोड २३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ९ करोड ४५ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने ६० करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ । ८ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी २१ अर्ब ६० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने यस वर्ष ४१ दशमलव ३० प्रतिशत घटेर १ अर्ब ६६ करोड ९६ लाखमा सीमित भएको छ ।

कम्पनीले गत वर्षको भन्दा ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १४३ दशमलव ६३ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३३ करोड ७७ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष ५७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ४१.३० प्रतिशत घटेको छ । त्यस्तै, बैंकको निक्षेप ७१.१२ प्रतिशत बढेको छ भने कर्जा १४३.६३ प्रतिशत बढेको छ ।