काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हाे।
मौसमविद् रोजन लामिछानेले बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधि वर्षाका दृष्टिले बढी जोखिमपूर्ण हुन सक्ने बताए। ‘बंगालको खाडीमा न्यून चापिय प्रणालीको विकास भइरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘आगामी बुधबारदेखि त्यो चक्रवातमा परिणत हुने देखिन्छ।’ उनले बुधबारदेखि नेपालको कोसी, बागमती र गण्डकी प्रदेशमा त्यसको प्रभाव पर्नसक्ने बताए। ‘बिहीबारदेखि त्यसको प्रभाव अझ बढ्छ। शनिबार दिउँसोसम्म त्यसले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात गराउने सम्भावना छ।’
चारदिन चक्रवातको प्रभाव रहने भएकाले नेपालको पहाडी र हिमाली क्षेत्रमा पैदलयात्री र पर्यटकहरुले सावधानी अपनाउनु पर्ने सुझाव लामिछानले दिएका छन्। ‘यी चार दिन धानबाली भित्र्याउने तयारीमा रहेका किसान पनि सचेत बन्नुपर्ने देखिन्छ,’ लामिछानेले भने। उनले मौसम फेरबदल भइरहेको भएकाले महाशाखाबाट आवश्यक सूचना लिएर मात्रै काम र भ्रमणका योजना बनाउन पनि आग्रह गरे। साथै, आइतबार, सोमबार र मंगलबार भने देशभर नै वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
बागमती प्रदेशमा बढी वर्षाको सम्भावना
मौसमविद् पोखरेलका अनुसार कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। चार दिनको अवधिमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने क्षेत्रहरूमा बागमती प्रदेशका धेरै स्थान रहेका छन्। कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि उल्लेख्य वर्षा हुने सम्भावना देखिएको उनले बताएका छन्।
उनले प्रस्तुत गरेको पूर्वानुमानअनुसार लगातार वर्षा हुँदा वा छोटो अवधिमै भारी वर्षा हुँदा जोखिम बढ्न सक्ने २९ जिल्ला पहिचान गरिएका छन्। ती जिल्लाहरू मुख्यतः लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका क्षेत्रमा पर्ने उनले बताएका छन्। विशेषगरी मनाङ जिल्लामा पनि भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने छ।







About Us
प्रतिक्रिया