सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न प्रभु बैंकले पायो राष्ट्र बैंकको अन्तिम स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । पुस १९ गते सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्न गत मंसिर २१ गते सम्झौता गरेको थियो । प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गर्न लागेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् ।

सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंकनै रहनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन नै हुनेछन् भने अध्यक्ष पनि प्रभु बैंककै तर्फबाट हुनेछन् । शेरचन हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि दुबै बैंकलाई एकिकृत कारोबार गर्ने बाटो खुला भएको छ ।

प्राप्तिपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब २३ अर्ब रुपैयाँ हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चुरी बैंकको १० अर्ब रूपैयाँ छ ।